देशकै पर्यटकीय सुन्दर नगरी पोखरामा नवौं राष्ट्रिय खेलकुद हुँदैछ।
काउन्ट डाउनको हिसावले राष्ट्रिय खेलकुद प्रतियोगिता हुन अब १९ दिन मात्रै बाँकी छन्।
राष्ट्रको खेलकुद र खेलाडीका लागि राष्ट्रिय गौरवको रुपमा लिइने यो नवौं राष्ट्रिय खेलकुद यही असोजको २८ देखि कार्तिक ३ गतेसम्म पोखरामा हुँदैछ। ४० वर्षपछि पोखरामा फर्किएको राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारीलाई तीब्र पारिएको छ।
प्रतियोगितामा ७ प्रदेश, ३ विभागीय र १ एनआरएनए गरी ११ टिमले सहभागिता जनाउँदैछ।
३८ खेलमा प्रतियोगिता गरिदैंछ। जसमध्ये क्यानोइङ डेमोको लागि मात्रै यस पटकको राष्ट्रिय खेलकुदमा थपिएका छन्। प्रतियोगितामा ३ हजार ६ सय ८५ महिलासहित ७ हजार ७ सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्नेछन्। खेलाडी, प्रशिक्षक, अफिसियल र अतिथिसहित पोखरामा करिब १० हजारको संख्यामा सहभागी हुनेछन्। प्रत्येक टोलीबाट कम्तीमा ३ सय ३५ महिला र ३ सय ७४ पुरुष खेलाडीको सहभागिता रहनेछ।
नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन्।
त्यस्तै हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रोे, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन्।
प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई ४९ लाखका दरले रकम उपलब्ध गराएको छ।
हाल, राष्ट्रिय खेलकुदका लागि खेल पूर्वाधारको मर्मत संभार तथा निर्माण कार्यलाई तीब्र रुपमा अघि बढेको छ। सुटिङ र पौडी खेलको पूर्वाधार पोखरामा नभएका कारण काठमाण्डौंमा हुनेछन्। बाँकी खेल भने पोखरामै हुनेछन्। पोखराबाहेक गण्डकी प्रदेशको बागलुङ, म्याग्दी, पर्वत, नवलपुर र तनहुँमा प्रतियोगिताका खेलहरु ह्ुनेछन्।
प्रतियोगितालाई भव्य रूपमा सम्पन्न गर्न मूल आयोजक राष्ट्रिय खेलकुद परिषद्, सातै प्रदेशका खेलकुद मन्त्रालय र मातहतका निकायको सक्रियता बढाइएको राष्ट्रिय खेलकुद परिषद राखेपले बताउँदै आएको छ। प्रतियोगितामा सहभागी टिम, खेलाडी, टिम प्रशिक्षक र टिम व्यवस्थापको दर्ता प्रक्रिया पूरा गरिएको छ।
हाल, राष्ट्रिय खेलकुद प्रतियोगिताको प्रचारात्मक अभियानलाई तीब्र पारिएको छ। जसअनुसार प्रतियोगिताको ट्रफीलाई गत भदौको ३० गते प्रधानमन्त्री शेरबहादुर देउवाले सार्वजनिक गरेका छन्। ट्रफीलाई सहभागी सबै ७ वटै प्रदेश र ३ विभागीय टिमका मुख्यालहरुमा लगिदैंछ।
सुदूरपश्चिम प्रदेशको धनगढी रंगशालाबाट टुर थालिएको ट्रफी हाल विभागीय सेना, नेपाल प्रहरीको मुख्यालय र प्रदेश १ को विराटनगरसम्म लगिएको छ। ट्रफीलाई आज सशस्त्र प्रहरी बलको मुख्यालयमा प्रदर्शनीमा राख्ने कार्यक्रम छ। त्यस्तै, असोजको ११ गते कर्णाली प्रदेशको सुर्खेत र १३ गते मधेश प्रदेशको रामजानकी मन्दिरमा लगिदैंछ। ट्रफीलाई अन्तिममा खेल आयोजक प्रदेश गण्डकीमा ल्याउने कार्यक्रम छ।
परिषद्ले राष्ट्रिय खेलकुदलाई लक्षित गरी नेशनल स्पोर्टस् काउन्सिल एप संचालनमा ल्याएको छ। काउन्सिलको अनलाइन एप पनि २ हप्ताअघि पोखरामै सार्वजनिक गरेको हो। खेलकुद मन्त्री गहतराजले एपको उद्घाटन गरेका हुन्। सो एपबाट खेलको तयारी, नतिजालगायतका सबै विवरण जानकारी दिइनेछ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







