नेकाँ गण्डकी प्रदेशको आसन्न निर्वाचन लक्षित विविध निर्णय


     एभरेस्ट आवाज    
     असाेज १० गते २०७९ मा प्रकाशित




नेपाली काँग्रेस गण्डकी प्रदेशले यही मंसीर ४ गते हुन गइरहेको निर्वाचनलक्षित विभिन्न निर्णय गरेको छ।

प्रदेशको आइतबार बसेको पदाधिकारी बैठकले प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा पार्टीका तर्फबाट प्रस्तुत उम्मेदवारहरु र नेपाली काँग्रेसलाई विजयी गराउन पार्टीको गण्डकी प्रदेश, जिल्ला तथा स्थानीय तहमा रहेको संस्थाहरु र भातृसंगठन तथा शुभेच्छुक संस्थाले खेल्नुपर्ने भुमिकाका विषयमा नेपाली काँग्रेस गण्डकी प्रदेशको कार्यालयमा भएको कार्यसमितिको वैठकमा छलफल तथा विविध निर्णय गरेको हो।

गण्डकी प्रदेशलाई समृद्धि प्रदेश निर्माण गर्ने उद्देश्य पूरा गर्न र निर्वाचन गतिविधिहरुलाई प्रभावकारी बनाउन आर्थिक परिचालन समिति संयोजकमा नेपाली काँग्रेस गण्डकी प्रदेशका कोषाध्यक्ष बसन्तकुमार श्रेष्ठ, घोषणापत्र तयारी संयोजकमा महामन्त्रीद्वय विष्णुप्रसाद लामिछाने र प्रचार–प्रसार समितिमा किरणबावु श्रेष्ठलाई संयोजक तोकिएको प्रवक्ता माधव प्रसाद बास्तोला (मधु)ले जानकारी गराए।

साथै, वीपी स्मृति पुस्तकालय संचालन समितिको संयोजकमा प्राडा कुशुमाकर न्यौपाने र अक्षयकोष तथा पुरस्कार व्यवस्थापनको संयोजकत्वमा प्रवक्ता माधवप्रसाद बास्तोला (मधु)लाई तोक्ने निर्णय गरेको छ।

त्यसैगरी, नेपाली काँग्रेस गण्डकी प्रदेशद्वारा तयार गरिने घोषणापत्रमा गण्डकी प्रदेश मातहतका जिल्लाहरुवासीको जिवनस्तर परिवर्तनका लागि समस्या र समाधान समेटी सम्बोधन गरिनुपर्ने विषयवस्तुकाबारेमा जिल्ला कार्यसमितिहरुसँग राय सुझाव माग गर्ने समेत निर्णय गरेको छ।

यसैगरि, बैठकले नेपाली काँग्रेस गण्डकी प्रदेश समितीले जनतालाई अप्ठ्यारो पर्ने गरि ल्याएको करमा पुनर्वलोकन गर्न गरेको निर्देशनलाई गण्डकी प्रदेश सरकारले सम्बोधन गरेकोमा धन्यबाद व्यक्त गरेको छ।

गण्डकी प्रदेश सरकारले जनभावनामा असर पार्ने गरि कर बढाएपछि नेपाली काँग्रेस गण्डकी प्रदेशले तत्कालै विज्ञप्ती जारी गरि प्रदेशका मुख्यमन्त्रीलाई विज्ञप्ती बुझाएको थियो र प्रदेश सभापति शुक्रराज शर्माले जनताको ढाड सेक्नेगरी कर बढाएकोमा आपत्ति व्यक्त गर्दै तुरुन्त समाधान गर्न अनुरोध गरेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।