नवौं राष्ट्रिय खेलकुदः १६ दिन मात्रै बाँकी


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित




गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता काउन्ट डाउनमा अब १६ दिनमात्र बाँकी छ।

असोजको २८ देखि कार्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि आयोजक राष्ट्रिय खेलकुद परिषद (राखेप) ले प्रतियोगितालाई हाल तिब्रता दिएको छ।

प्रतियोगितालाई सम्पन्न गर्न गठित विभिन्न १४ वटा उपसमितिहरुले आफ्नो जिम्मेवारीलाई तिब्रता दिएका छन्।

यसबीचमा प्रतियोगिताका लागि तयार गरिएको ‘राष्ट्रिय रनिङ ट्रफी’लाई देशका सातै प्रदेश र विभागीय टिमको मुकाम पु¥याएर देखाउने काम भइरहेको छ ।

७ वटै प्रदेश, ३ विभागीय र एनआरएनए गरी ११ टिमको प्रतिस्पर्धा रहने प्रतियोगिताका लागि खेलाडी छनोट भएर प्रतियोगिताका लागि खेलाडीको नाम दर्ता गर्दैछ।

राष्ट्रिय खेलकुदको खेलस्थल पूर्वाधार निर्माण र मर्मत संभारहरु जारी छन्। ३६ वटा प्रतिस्पर्धात्मक र २ प्रदर्शनी मात्र गरिने ३८ खेलमध्ये पुरुष क्रिकेटको खेल सम्पन्न भइसकेको छ। उक्त स्पर्धामा विभागीय नेपाल पुलिसले अर्को विभागीय नेपाल आर्मीलाई ८ विकेटले जित्दै प्रतियोगिताकै पहिलो स्वर्ण जित्न सफल बनेको छ।

बाँकी खेल भने असोजको २८ गतेबाट सुरु भएर कार्तिकको ३ गते सक्ने तालिका छ। राष्टपति विद्या भण्डारीले प्रतियोगिताको उद्घाटन र प्रधानमन्त्री शेरबहादुर देउवाले समापन गर्ने कार्यक्रम छ।

प्रतियोगिता अन्तर्गतका धेरैजसो खेलहरु गण्डकी प्रदेश राजधानी पोखरामै केन्द्रीत रहेको र बाँकी खेलहरु स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको छ । गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा एक खेल खेलाउने भनिए पनि अन्तिममा आएर तनहुँ, लमजुङ, मनाङ र मुस्ताङमा खेल नहुने भएको हो ।

प्रतियोगितामा तीन हजार छ सय ८५ महिलासहित सात हजार सात सय ९० खेलाडीले विभिन्न ३६ खेल विधामा प्रतिस्पर्धा गर्ने प्रतियोगिता आयोजक कार्यकारिणी समितिका सदस्यसचिव फणिन्द्र पौडेलले जानकारी दिए ।

नेपालको खेलकुदको इतिहासमा पोखरामा ३९ वर्षपछि दोस्रोपटक राष्ट्रिय खेलकुद प्रतियोगिता हुन लागेको हो । प्रत्येक टोलीबाट कम्तीमा तीन सय ३५ महिला र तीन सय ७४ पुरुष खेलाडीको सहभागिता रहने छ ।

नवौँ राष्ट्रिय खेलकुदमा फुटबल, क्रिकेट, टेनिस, एथलेक्टिस, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खोःखो, कराँते, जिम्न्याष्टिक, पौडी र कबड्डी खेल समावेश गरिएका छन् । 

त्यस्तै हयाण्डबल, जुडो, कुस्ती, कराते, सफ्टटेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, आइटिएफ तेक्वान्दो, सेपाताक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन र प्याराग्लाइडिङ पनि प्रतियोगितामा समेटिएका खेल हुन् ।

प्रतियोगिता धेरैभन्दा धेरै खेलाडीबीच प्रतिस्पर्धा होस् भन्ने हेतुले खेलाडी तयार गर्न प्रत्येक प्रदेशलाई रु ४९ लाखका दरले रकम उपलब्ध गराएको थियो । प्रतियोगिताअन्तर्गत व्यक्तिगत प्रतिस्पर्धामा स्वर्ण पदक विजेतालाई रु २५ हजार तथा सामूहिकतर्फका स्वर्णधारीलाई रु १५ हजार पुरस्कार प्रदान गरिने मन्त्रालयले जनाएको छ ।

चार सय आठ प्रतिस्पर्धा हुने प्रतियोगिताका लागि तीन सय ९३ स्वर्ण, तीन सय ९३ रजत र छ सय कास्य पदकको यसअघि नै तय भइसकेको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।