पर्यटकलाई लक्षित गर्दै ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा


     एभरेस्ट आवाज    
     असाेज १२ गते २०७९ मा प्रकाशित




तस्बिर : कमल खत्री

बेनी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा पर्यटकलाई लक्षित गरी ‘होटल नेचुरल स्प्रिङ’ सञ्चालनमा आएको छ । बेनी–जोमसोम कोरोला सडक र अन्नपूर्ण पदमार्गमा पर्ने भुरुङ तातोपानीमा व्यवसायी राजु हमालले करिब रु .३५ करोड लगानीमा सो होटल सञ्चालनमा ल्याएका हुन् ।

करिब आठ रोपनी क्षेत्रफलमा तीन वर्ष लगाएर छ तलाको भवन निर्माण गरिएको हो । घटस्थापनादेखि औपचारिकरूपमा होटल सञ्चालनमा आएको सो होटलमा ५७ कोठा छन् । होटलमा एकैपटक झण्डै दुई सय जनालाई राख्न सकिने सञ्चालक हमाल बताउँछन्। “आन्तरिक तथा बाह्य पर्यटकको सुविधालाई ध्यानमा राख्दै होटल सञ्चालनमा ल्याएका हौँ”, उनले भने।

होटलका सबै कोठाबाट कालीगण्डकी नदी र अन्नपूर्ण हिमशृङ्खलाको अवलोकन गर्न सकिन्छ । लगानी, पूर्वाधार र क्षमताको हिसाबले उक्त होटल धवलागिरि क्षेत्रकै ठूलो भएको तातोपानी टोल सुधार समितिका सचिव एवं पर्यटन व्यवसायी अमृतमान शेरचनले बताए । “म्याग्दी हुँदै मुस्ताङ आवतजावत गर्ने पर्यटकका लागि स्तरीय होटल आवश्यक छ”, उनले भने । सो होटल सञ्चालनमा आएसँगै भुरुङ तातोपानी बजारका साना–ठूला होटलमा गरी एक रातमा करिब एक हजार जनालाई राख्न सकिनेछ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।