पोखरा महानगरपालिकाले सृजनाचोकस्थित आफ्नो स्वामित्वमा रहेको भवनको भूमिगत पार्किङ खाली गरी पार्किङ प्रयोगका लागि खुला गरेको छ।
महानगरमा निर्माण गरिएका भूमिगत पार्किङसहितका कतिपय भवनहरूले प्रयोजन विपरीत प्रयोग गरिरहेका बेला महानगरले भने आफ्नो भवनमा पार्किङ खुला गरेको हो।
यसअघि, भदौ १३ गते महानगरले पोखरामा रहेका भूमिगत पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजन मै प्रयोग गर्न ३५ दिने सूचना जारी गरेको थियो। सूचनाको म्याद अझ केही दिन बाँकी छ। तर, महानगरले सोअगावै आफ्नो भूमिगत पार्किङ खाली गरी यस कार्यको शुभारम्भ गरेको प्रमुख धनराज आचार्यले बताएका छन्।
पोखरामा रहेका भूमिगत पार्किङहरूमा पार्किङ सांकेतिक रूपमा सुरु भयो भन्ने सन्देश महानगरले दिएको प्रमुख आचार्यले उल्लेख गरे।
बेसमेन्ट पार्किङसहितको भवन निर्माणका लागि अनुमति लिई निर्माण गरिएका हरेक भवनहरूमा यसको कार्यान्वयन अनिवार्य हुने प्रमुख आचार्यले स्पष्ट पारे।
पोखरामा बढ्दो पार्किङको असुविधालाई मध्यनजर गरी आफूहरूले प्रयोजन विपरीत प्रयोग भइरहेका ती पार्किङ स्थलहरूलाई पार्किङ प्रयोजनकै लागि उपयोग गर्न आग्रह गरिएको उनले बताए।
सूचनाको म्याद गुज्रिए पछि पनि अटेर गर्नेहरूलाई नियमानुसार कारबाही गरिने उनले बताए । भूमिगत पार्किङलाई खालि गरी सोही प्रयोजनका लागि उपयोग गर्नुको विकल्प नरहेको उनको भनाई थियो। प्रमुख आचार्यले भूमिगत पार्किङमा संचालन गरिएका व्यवसायहरू तोकिएको समयभित्र नै स्थानान्तरण गर्न उनले व्यवसायीहरूलाई आग्रह समेत गरे।
यस अवधिमा कतिपय व्यवसायीहरूले भूमिगत पार्किङहरू खाली गरिसकेको अनुगमनका क्रममा पाइएको महानगरका वरिष्ठ इन्जिनियर सुरेन्द्र पौडेलले बताए। उनका अनुसार पोखरा महानगरपालिका भित्र २५० बढी भवनमा भूमिगत पार्किङ स्थलहरू छन्।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







