सञ्चालनमा नआउँदै बिग्रियो नौ करोडको बसपार्क


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित





गलकोट । आधुनिक बसपार्कको छाना हावाले उप्काएको छ भने यात्रु प्रतिक्षालयको केही भाग भासिएर चर्किएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट पानी चँुइएर अन्डरग्राउन पार्किङस्थलमा ताल परेको छ । बसपार्कको दायाँबाँया चर्किएको भाग सिमेन्टले पोतिएको छ । उक्त दृश्य कुनै जीर्ण बसपार्कको नभएर निर्माण सम्पन्न भएर सञ्चालनमा आइनसेको आधुनिक बागलुङ बसपार्कको हो ।

रु नौ करोड लागतमा निर्माण सम्पन्न गरिएको बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको छ । निर्माण व्यवसायीको लापारबाहीका कारण सञ्चालनमा नआउँदै बसपार्क मर्मत गर्नुपर्ने अवस्था आइपुगेको छ । आधुनिक बागलुङ बसपार्क निर्माण सम्पन्न भएको एक वर्ष मात्रै बित्यो ।

बसपार्क सञ्चालनमा नआउँदै मर्मत सम्भार गर्नुपर्ने अवस्थामा पुगेको बागलुङ नगरपालिकाले जनाएको छ । निर्माण व्यवसायीले बसपार्क निर्माण सम्पन्न गरे पनि बसपार्क हस्तान्तरण भने भएको छैन तर बसपार्कको संरचना भने बिग्रिएको छ । बसपार्कको टर्मिनल भवनको बीच भागबाट अन्डरग्राउन पार्किङस्थलमा पानी जमेको छ भने केही भाग प्लास्टरसमेत उप्किएको पाइएपछि नगरपालिकाले निर्माण व्यवसायीलाई पत्र नै काटेर मर्मत गर्न लगाएको नगरप्रमुख वसन्तकुमार श्रेष्ठले जानकारी दिए ।

बागलुङ–४ स्थित दाबगरामा स्थानीयवासीले निःशुल्क दिएको जग्गामा बसपार्क निर्माण भए पनि गुणस्तरमा भने प्रश्न चिन्ह उठेको छ । बागलुङ बजारमा आधुनिक बसपार्क निर्माण गर्ने सपना १९ वर्षपछि पूरा भए पनि बसपार्क सञ्चालनमा नआउँदै बिग्रन थालेको हो ।

बसपार्कको यात्रु प्रतिक्षालयको जस्ता हावाले उडाएपछि बसपार्क टिकाउ नहुने स्थानीयवासीको आशङ्का छ । अहिले बसपार्कको बिग्रको भाग मर्मत निर्माण कम्पनीबाटै भइरहेको नगरपालिकाका इञ्जिनीयर त्रिलोचन गिरीले जानकारी दिए । निर्माण व्यवसायीले अन्तिम किस्ता रु ३८ लाख रकम भुक्तानी गर्न बाँकी रहेको नगरपालिकाले जनाएको छ ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।