बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल


     एभरेस्ट आवाज    
     असाेज १३ गते २०७९ मा प्रकाशित





दमौली । तनहँुको प्रमुख पर्यटकीय गन्तव्यस्थल बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भएको छ । असोज लागेसँगै बन्दीपुरमा विदेशी पर्यटक आउन थालेका हुन् । विदेशीको घुम्ने समय भएकाले बन्दीपुर आउने क्रम सुरु भएको व्यवसायी बताउँछन् । बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष एवं होटल व्यवसायी किसन प्रधानले विदेशी पर्यटकको आगमन सुरु भएको जानकारी दिए ।

चिनियाँ पर्यटक भने बन्दीपुरमा ठप्प रहेको उनले बताए । विदेशी पर्यटकको घुम्ने समयका कारण नेपाल आएका पर्यटक प्याकेजमा बन्दीपुरसम्म आउने गरेको उनले सुनाए । बन्दीपुरमा विदेशी पर्यटकको चहलपहल सुरु भए पनि स्वदेशी पर्यटक भने न्यून रहेको व्यवसायी बताउँछन् ।

होटल व्यवसायी बसन्त पौडेलले स्वदेशी पाहुनाको आगमन घटेको बताए । सदरमुकाम दमौलीदेखि १८ किलोमिटर डुम्रे हुँदै आठ किलोमिटरको उकालो यात्रा तय गरेपछि बन्दिपुर पुगिन्छ । जहाँबाट मनोरम हिमशृङ्खला, पहाड, टाकुरा अवलोकन गर्न सकिन्छ ।

प्राकृतिक सुन्दरता बोकेको बन्दिपुरबाट अन्नपूर्ण, माछापुच्छ«े, धौलागिरी लगायतका हिमशृङ्खला देखिने भएकाले यहाँ पुग्ने जो कसैको मन लोभिने गर्दछ । भक्तपुरे शैलीमा निर्माण गरिएको घर, टुँडिखेल, थानीमाई, तीनधारा, रानीवन, रामकोट, सुनखरी, खड्देवी मन्दिर, विन्ध्यवासिनी मन्दिर, महालक्ष्मी मन्दिर, सूचना केन्द्र लगायतका स्थल यहाँ आउने पर्यटकको पहिलो रोजाइँ बन्ने गरेको छ । बन्दीपुरमा होटल सङ्घसँग आबद्ध साना ठूला गरी ७७ होटल सञ्चालनमा छन् ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।