गण्डकी प्रदेशको प्रवेशद्वार तनहुँको आँबुखैरेनीस्थित ऐनापहरा झरनामा पर्यटकको आकर्षण बढेको छ।
आँबुखैरेनी गाउँपालिका–२ र ४ को सिमानामा रहेको उक्त झरना पर्यटकीय गन्तव्यको रूपमा विकास भइरहेको छ।
पृथ्वी राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणको विश्रामस्थलका रूपमा समेत यो झरना विकास भइरहेको आँबुखैरेनी गाउँपालिका–३ का वडा सदस्य मनोजकुमार श्रेष्ठले बताए।
‘काठमाडौं र चितवनबाट पोखरातर्फ आउने यात्रुहरू सवारीसाधन रोकेरै ऐनापहरा झरनामा रमाउने गरेका छन्,’ उनले भने, ‘यात्राका क्रममा हुने थकान मेटाउने गन्तव्य बनेको छ भन्दा पनि हुन्छ।’
यसका अलावा जिल्लाभित्रकै आन्तरिक पर्यटक पनि यो झरनामा आउने गरेका छन्।
पृथ्वीराजमार्ग अन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि यतिबेला तनहुँ खण्डमा धमाधम काम भइरहेको छ, जसले गर्दा राजमार्गको यात्रा सकसपूर्ण छ। त्यसमाथि धुवाँधुलोले सर्वसाधारणलाई समस्या भइरहेको छ। धुवाँधुलो र कष्टपूर्ण यात्राको थकान मेट्न ऐनापहरा झरना उपयुक्त स्थल बनेको छ। जिल्लाको म्याग्दे गाउँपालिका–७ हर्षपुरका मोहन बरालीले राजमार्ग हुँदै यात्रा गर्दा ऐनापहरा झरनामा गरिने आरामले आनन्द मिल्ने बताए।
‘एकछिन भने पनि थकाइ मार्न आनन्द लाग्ने ठाउँ छ,’ उनले भने।
पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास भएपछि आँबुखैरेनी गाउँपालिकाले यहाँ पूर्वाधार थप गर्ने लक्ष्य लिएको छ। ऐनापहरामा पूर्वाधार निर्माणका लागि चालू आर्थिक वर्षमा रू. एक करोड ४० लाख विनियोजन गरिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। यहाँ स्काई साइक्लिकिङ, सिसाको पुल बनाउने योजना बनाइएको छ। सर्वसाधारणको सुविधाका लागि शौचालय गत वर्ष नै निर्माण भइसकेको छ। गर्मी मौसमका बेला झरनामा नुहाउन, थकान मेट्न र भिडिओ बनाउन सर्वसाधारणको भीड बढ्न थालेको छ। झरनामा दैनिक तीन सयदेखि चार सय सर्वसाधारण पुग्ने गरेका छन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







