नवौं राष्ट्रिय खेलकुद: ५ दिन बाँकी, अन्तिम तयारी


     एभरेस्ट आवाज    
     असाेज २३ गते २०७९ मा प्रकाशित




नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता सुरु हुन अब ५ दिनमात्रै बाँकी छ ।

करिब ४० वर्षपछि गण्डकी प्रदेशमा हुन लागेको राष्ट्रिय गौरवकै खेलकुद प्रतियोगिताको तयारीले प्रदेश राजधानी पोखरालाई तताएको छ । अर्थात, यतिखेर पोखरा खेलकुदमय बनेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप) सदस्य सचिव टंकलाल घिसिङदेखि बोर्डका सदस्य, खेल पदाधिकारी र उपसमितिहरुका संयोजकहरु खेलकुद प्रतियोगिताकै तयारीका लागि पोखरामा जुटेका छन्।

प्रतियोगिताको खेल व्यवस्थापनका लागि जिम्मेवारी पाएको उपसमितिहरुको क्रियाशीलता बढाएका छन् ।

राष्ट्रिय खेलकुद प्रतियोगिताको औपचारिक समुद्घाटन असोजको २८ बाट हुने भनिएपनि पुरुष क्रिकेट एक महिनाअघि सकिएको छ । पुरुष क्रिकेटमा विभागीय नेपाल प्रहरीले स्वर्ण र अर्को विभागीय आर्मीले रजत पदक जितेको छ ।

अन्तर्गत महिला क्रिकेट आज (आइतबार) बाट सुरु हुँदैछ । महिला/पुरुष ह्याण्डबलको खेल भोली (सोमबार) बाट सुरु हुँदैछ ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता कार्यकारी समिति संयोजक समेत रहेका घिसिङले राष्ट्रिय खेलकुद प्रतियोगिता तयारीलाई तीब्रता पारिएको बताएका छन् । एभरेस्ट एफएम ९३ मेघाहर्जको संवादमूलक कार्यक्रम ‘पेटबोली’ मा बोल्दै घिसिङले भनेका छन्, ‘तयारी अन्तिम क्षणमा पुगेको छ, सोँचेजस्तै तयारीलाई तीब्रता दिइएको छ ।’

‘मूलभूत रुपमा तयारीहरु भएकै छन् । महान पर्व, चाडवाड, प्रतिकूल मौसम र जनशक्तिको अभावका कारणपनि तयारीलाई कुनै कसर बाँकी राखिएको छैन,’ उनको भनाई छ ।

घिसिङका अनुसार धेरै खेलस्थलहरु सम्पन्न भइसकेका छन्। बाँकी, खेलस्थलहरुको निर्माण एवं मर्मत संभारलाई १/२ दिनमै सकाउने योजना छ । बजेटको हिसावले कमी हुँदैन । प्रतियोगिताका लागि सिलिङमा ६० करोड छुट्याइएपनि ६३ करोडसम्म अर्थ मन्त्रालयसँग सैद्धान्तिक सहमति भएका छन् ।

घिसिङले राष्ट्रिय खेलकुदको ट्रफीलाई ६ वटै प्रदेश र ३ विभागीय मुख्यालयमा टुर गराइसकेको जानकारी दिएका छन् । खेल आयोजना स्थल पोखरामा भोली (सोमबार) ट्रफी ल्याउने घिसिङले बताए ।

प्रतियोगितालाई सफल बनाउन सक्रिय सहभागीताका लागि घिसिङले पोखरावासीलाई आग्रह समेत गरेका छन् । खेलकुदको संस्कृति रहेको शहर पोखरामा हुन गइरहेको प्रतियोगिता सफल बन्ने उनको विश्वास छ ।

राष्ट्रिय प्रतियोगिता अन्तर्गत ३६ खेल हुँदैछन्। धेरैजसो खेलभेन्यू कास्कीको पोखरामा हुँदैछ । कास्कीबाहेक तनहुँ, गोरखा, स्याङ्जा, नवलपुर, बागलुङ, म्याग्दी र पर्वतमा खेल तालिका तोकिएको छ ।

राष्ट्रिय खेलका लागि करिब ८ हजार खेलाडीसहित टिम प्रशिक्षक, व्यवस्थापक र अफिसियल गरी १० हजार संख्यामा सक्रिय सहभागिता रहनेछ । प्रतियोगितामा ३ सय ९२ स्वर्ण, ३ सय ९२ रजत र ६ सय कास्य गरी १ हजार ३ सय ८४ पदकका लागि प्रतिस्पर्धा हुने भनिएपनि प्रतियोगिताअन्तर्गत विभिन्न १० खेलका २३ विधा रद्द गरिएको छ । कीर्तिमानधारी खेलाडीहरुलाई ५० हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा सहभागी सबै खेलाडी, प्रशिक्षक, अफिसियल र कर्मचारीहरुका लागि १० लाख बराबरको बीमा व्यवस्था गरिएको छ । राष्ट्रिय खेलकुदमा ७ प्रदेश, ३ विभागीय र एनआरएनको १ गरी ११ टोलीले सहभागिता जनाउनेछन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।