यस वर्ष सुन्तला उत्पादन बढ्ने


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




पर्वत । व्यावसायिक सुन्तलाखेतीका लागि प्रख्यात बन्दै गएको पर्वतको पाङ्राङका कृषकले यस वर्ष सुन्तला उत्पादन बढ्ने बताएका छन् । यस वर्ष कम वर्षा भएको तथा रोग, किरा र असिनाको प्रकोपसमेत नभएकाले सुन्तला उत्पादन बढुने अपेक्षा गरिएको श्रीनगर सुन्तला उत्पादक सहकारीका अध्यक्ष तारालाल कुवँरले बताए ।

गत वर्ष सहकारीमार्फत ८० लाखका सुन्तला बेचेका यहाँका कृषकले यस वर्ष कम्तीमा डेढ करोड भित्र्याउन सफल हुने उनको भनाइ छ । सुन्तलाबाट वार्षिक लाखौँ रुपैयाँ आम्दानी गर्न थालेपछि उनीहरुको जीवनस्तरमा समेत परिवर्तन आउन थालेको छ ।

गाउँमा उत्पादित सुन्तलालाई श्रीनगर सुन्तला उत्पादक सहकारीमार्फत बेचबिखन गर्न थालेपछि देशका मुख्य मुख्य सहरमा समेत बजार पाउन थालेको छ । उत्पादित सुन्तला पोखरा, काठमाडौँ, बुटवल, विराटनगरलगायतका व्यापरीले गाउँमै आएर खरिद गर्न थालेको अध्यक्ष कुँवरले बताए ।

फलेबास क्षेत्रमा कोल्डस्टोर बनाउने र पर्वतका सबै गाउँको उत्पादन राखेर बेमौसममा बिक्री गर्नसकेमा कृषकलाई धेरै राहत पुग्ने अध्यक्ष कुँवरको भनाइ छ । सुन्तला फल्ने गाउँ सम्म नै पक्की सडक हुनसके ढुवानीका लागि अझै सहज हुने उनको भनाइ छ ।

कृषि ज्ञानकेन्द्र पर्वतका वरिष्ठ कृषि विकास अधिकृत मनिता थापाले गत वर्षभन्दा राम्रो फल लागेकाले यस वर्ष उत्पादनमा केही वृद्धि हुने जानकारी दिए ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।