गैर नागरिकता सम्बन्धी ऐन संशोधन गराउने प्रधानमन्त्रीको प्रतिवद्धता


     एभरेस्ट आवाज    
     असाेज २५ गते २०७९ मा प्रकाशित




प्रधानमन्त्री शेरबहादुर देउवाले निकट भविष्यमा नै गैर नागरिकता सम्बन्धी ऐनलाई सरकारले संशोधन गर्ने प्रतिवद्धता जनाएका छन् ।

मंगलवार गैर आवासीय नेपाली संघको वार्षिक साधारण सभालाई सम्बोधन गर्दे प्रधानमन्त्री देउवाले सरकारले गैर आवासीय नेपालीहरुको नेपाल आगमनमा सहजीकरणदेखि सम्पतीको सुरक्षित गर्ने सम्बन्धमा आवश्यक सहयोग उपलब्ध गराउँदै आएको उल्लेख गरे ।

उनले गैर आवासीय नेपाली समुदायले विदेशमा नेपालमा उत्पादित वस्तुको उपयोगलाई प्राथमिकता दिन र स्वदेशी उत्पादनहरुको विकास र प्रवद्र्धनमा सहयोग पु¥याउन आवश्यक रहेको पनि बताए । देउवाले यसबाट नेपालको श्रम, सीप, कच्चा पदार्थमा आधारित साना तथा मझौला उद्योगहरुको संरक्षणमासमेत टेवा पुग्ने विश्वास व्यक्त गरे ।

उनले गैर आवासीय नेपालीहरुले विदेशमा आर्जन गरेको पुँजीलाई नेपालमा विभिन्न क्षेत्रमा लगानी गर्न जोड दिनुका साथै सम्बन्धित देशमा रहेका नेपालीहरुले समन्वय र सहकार्य गरी विदेशी लगानीकर्ताको पुँजीलाई नेपालमा भित्राउनसमेत अग्रसरता लिन आवश्यक रहेको बताए ।

नेपालमा पुँजी लगानी गरी नेपालको विकासमा सहयोग गर्न गैर आवासीय नेपालीहरुलाई देउवाले आह्वान गरेका छन् । गैर आवासीय नेपाली संघलाई सहजरुपमा लगानी गर्नसक्ने र लगानीको प्रतिफल उपभोग गर्नसक्ने वातावरण निर्माण गर्न सरकार प्रतिवद्ध रहेको बताए ।

उनले हरेक गैर आवासीय नेपालीहरुले विदेशमा नेपालको पहिचान जगाउन, विदेशी लगानीकर्ताहरुलाई लगानी गर्न उत्प्रेरित गर्न, महत्वपूर्ण भुमिका खेल्नुपर्ने आवश्यक्ता रहेको बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।