सांकेतिक तस्विर
दमौली । मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि तनहुँमा उम्मेदवारी दर्तासँगै चुनावी सरगर्मी बढेको छ । दुई प्रतिनिधिसभा र चार प्रदेशसभा सदस्यका लागि हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गरेपछि यहाँको माहोल तात्न थालेको थालेको हो ।
जिल्लामा शीर्ष नेताले उम्मेदवारी दिएकाले पनि चुनावको चर्चा बढेको बताइन्छ । तनहुँ क्षेत्र नं १ को प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल चुनावी मैदानमा छन । विसं २०७४ को निर्वाचनमा तत्कालीन बाम गठबन्धनका उम्मेदवारसँग पराजित उनी यसपटक निर्वाचन जित्ने बताउछन ।
गत निर्वाचनमा जनतामा असझदारी पैदा हुँदा आफूले चुनाव हारेको बताउँदै नेता पौडेल यस पटक तनहुँका जनताले विजयी गराउने विश्वास व्यक्त गर्छन । उता क्षेत्र नं २ को प्रतिनिधिसभा सदस्यका लागि दुई पूर्व वनमन्त्रीबीच प्रतिस्पर्धा हुँदैछ । नेपाली कांग्रेसबाट शङ्कर भण्डारी र नेकपा एमालेबाट किरण गुरुङ चुनावी प्रतिस्पर्धामा छन ।
गण्डकी प्रदेशका समेत पूर्व अर्थमन्त्री रहनुभएका गुरुङ मुलुकको राजनीतिक स्थायित्व, स्थिरता, राष्ट्रिय स्वाभिमान, अखण्डता, मुलुकको समृद्धि र अग्रगामी परिवर्तनका लागि आफू उम्मेदवार बनेको बताउछन । उम्मेदवारी दर्तासँगै जिल्लामा चुनावको माहोल बनेको अधिवक्ता भानुभक्त सुवेदीको भनाइ छ ।
विसं २०७४ को निर्वाचनमा नेपाली कांग्रेसले दुई प्रतिनिधिसभा र चार प्रदेशसभा गरी छ सिट गुमाएको थियो । यो पटक छ वटै सिट कांग्रेस र गठबन्धनलाई विजयी गराउने हिसाबले निर्वाचनको तयारी गरिने नेपाली कांग्रेस जिल्ला सचिव लक्ष्मीभक्त खनाल जानकारी दिन्छन । निर्वाचनको तयारीस्वरुप सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दलले बैठक, भेला सुरु गरेका छन् ।
नेकपा एमालेले दुवै क्षेत्र र चार प्रदेशसभा क्षेत्रमा बैठक राखेर चुनावको रणनीति बनाउने उपाध्यक्ष हरिराज कँडेल बताउछन । तनहुँ क्षेत्र नं २ मा सत्तारुढ गठबन्धनको पहिलो चरणको बैठक बसिसकेको र यसलाई निरन्तरता दिइने नेकपा माओवादी केन्द्र शुक्लागण्डकी नगर कमिटी अध्यक्ष मनराज गुरुङ जानकारी दिए ।
गत बैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले जिल्लाका दशमध्ये पाँच, नेकपा एमालेले चार र नेकपा माओवादी केन्द्रले एक स्थानीय तहमा विजय हासिल गरेको थियो ।
दुई लाख ४८ हजार मतदाता
जिल्लामा दुई लाख अड्चालिस हजार चार सय ९५ मतदाता छन्् । स्थानीय तहको निर्वाचनपछि नयाँ मतदाता दर्ता र अद्यावधिक पछि निर्वाचन आयोगले तनहुँमा उक्त मतदाता सङ्ख्या कायम गरेको हो । स्थानीय तहको निर्वाचनपछि तनहुँमा चार हजार एक सय ५५ मतदाता थपिएका छन् ।
स्थानीय तहको निर्वाचनमा दुई लाख ४४ हजार तीन सय ४० मतदाता थिए । तनहुँ क्षेत्र नम्बर १ तर्फ एक लाख २३ हजार चार सय ९० र क्षेत्र नम्बर २ तर्फ एक लाख २५ हजार पाँच मतदाता कायम भएको छ । विसं २०७४ को प्रतिनिधि÷प्रदेशसभा निर्वाचनमा जिल्लामा दुई लाख ११ हजार तीन सय ९६ मतदाता थिए ।
पाँच वर्षको अवधिमा यहाँ ३७ हजार ९९ मतदाता थपिएका हुन् । तनहुँ क्षेत्र नम्बर १ प्रदेश सभा १ मा ६७ हजार एक सय ४४ र प्रदेश सभा २ मा ५६ हजार तीन सय ४६ मतदाता कायम भएका छन् । तनहुँ क्षेत्र नम्बर २ प्रदेश १ मा ६७ हजार ३२ र प्रदेश २ मा ५७ हजार नौ सय ७३ मतदाता कायम भएका छन् ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । डाइनामिक टेक्नोसफ्ट प्रा.लि.को आयोजना तथा नेशनल प्याब्सन कास्कीको व्यवस्थापनमा विद्यालयका…





