पोखरा, असोज २५
पोखरामा फेवाताल सरसफाईको महाअभियान शुरु भएको छ । पोखराको पर्यटकीय गन्तव्य फेवातालमा बृहद सरसफाई महाअभियान शुरु गरिएको हो । पोखरा महानगरपालिकाको आयोजना तथा ३३ वटै वडाको सहकार्यमा शुरु गरिएको महाअभियानको मंगलबार पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले उद्घाटन गरे । अभियानमा पोखराका नागरिक समाजसहित सयौं संघसंस्थाले सकृय सहभागिता जनाएका छन् ।
सरसफाइ महाअभियानमा आमा समूह, टोल विकास संस्था, युवा क्लब, विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाहरू, सहकारी, बैंक तथा वित्तीय संस्था, राजनीतिक दल, सुरक्षा निकाय, जनप्रतिनिधि, उद्योगी व्यवसायी, पर्यटन सम्बद्ध सङ्घसंस्थालगायतको सकृय सहभागिता रहेको हो । मंगलबार पहिलो दिन करीब पाँच हजार अभियन्ताहरु सरसफाईमा सहभागि भएको महानगरपालिकाले दाबी गरेको छ ।
सरसफाई महाअभियान अन्तर्गत मंगलबार फेवातालका ३३ वटा प्वाईन्टबाट सरसफाई शुरु गरिएको छ । पोखरा महानगरका ३३ वटा वडाले एक÷एक वटा प्वान्टको नेतृत्व गरेर सरसफाई गरिएको जनाइएको छ । मंगलबार फेवाड्याम, ड्यामसाईड पार्क, केदारेश्वर घाट, फिस्टेल घाट, अम्बोट घाट, नयाँघाट, गौरी घाट, बाराही घाट, नेपाल ट्रष्ट, पाहारी घाट, माछा सेक्सन ,फेवाघाट, स्वीमिङ पुल, हल्लनचोक ,क्याम्पीङ चोक ,खहरे घाट, बंगलादी घाट, गैरी चौतारा, वाटर फ्रन्ट, रातेमाटो डाँडा, फ्याउरे घाट दुनाटपरी, क्यारोनोभा खपौदी र इन्ड अफ दि लेक गरी ३३ प्वाईन्टबाट सरसफाई शुरु गरिएको महानगरपालिकाले जनाएको छ ।
ताल सरसफाईमा महानगरपालिका प्रमुख धनराज आचार्य, उपप्रमुख मञ्जुदेवी गुरुङ, ३३ वटै वडाका वडाध्यक्षसहित संघसंस्थाका प्रतिनिधि तथा सर्वसाधारणहरुको बाक्लो सहभागिता रह्यो । महानगरका प्रमुख, उपप्रमुख, वडाध्यक्षसहित जनप्रतिनिधिहरु नै जलकुम्भी झार फाल्न कस्सिएपछि विभिन्न संघसंस्थाहरुले जलकुम्भी झार फाल्न सहयोगी हात बढाएका छन् ।
अभियानको शुभारम्भ गर्दै महानगरपालिकाका प्रमुख धनराज आचार्यले फेवाताल सरसफाईको महाअभियानमा पहिलो दिन उत्साहजनक सहभागिता भएको भन्दै खुशी व्यक्त गरे । ‘सबै ठाउँमा उल्लेख्य सहभागितामा सरसफाई महाअभियान शुरु गरिएको छ,’ प्रमुख आचार्यले भन, ‘सुरुमा ३५ ट्रक फोहोर जम्मा गर्न सकिन्छ कि भन्ने थियो, तर अन्तिमसम्म आइपुग्दा २ सय बढी ट्रक फोहोर संकलन गरिएको छ। ’
महाअभियानको पहिलो दिन २ सय बढी ट्रक जलकुम्भी झार लगायतको फोहोर फेवातालबाट बाहिर निकालिएको उनले बताए । तालको करिब ७५ प्रतिशत क्षेत्रमा फैलिएको झार मंगलवारको अभियानका क्रममा निकालिएको छ। अभियानलाई निरन्तरता दिने सम्बन्धमा महानगरपालिकाले स्थायी संयन्त्र बनाएर अगाडी बढ्ने उनले बताए ।
‘यो सुरुवात मात्र हो, यसलाई आगामी दिनमा निरन्तरता दिने सन्दर्भमा महानगरपालिकाले स्थायी संयन्त्र निर्माण गरेर अगाडि बढ्ने छ,’ प्रमुख आचार्यको भनाई थियो ‘सरसफाई अभियानमा स्थानीय पर्यटन व्यवसायी तथा होटेल व्यवसायीहरूको साथ सहयोग पनि जरुरी छ।’ तालको छेउमा ठुला व्यवसाय सञ्चालन गरिरहेका व्यवसायीहरूको ताल संरक्षण तथा सरसफाइमा कम चासो देखिएकोप्रति प्रमुख आचार्यले रोष प्रकट गरे। आफ्नो आसपासको क्षेत्रमा नियमित सरसफाइ गर्ने कार्यमा उनीहरूको ध्यानाकर्षण समेत प्रमुख आचार्यले गराएका छन्।
फेवाताल सफाइका लागि ल्याइएको मेसिनमा पटक पटक खराबी आएका कारण नियमित सञ्चालन गर्न नसकिएको समेत महानगरपालिकाले उल्लेख गरेको छ । लामो समय मेशिन खराबी कारण अलपत्र परेको थियो । ‘मेशिनलाई मर्मतसंभार गरी आजदेखि मेसिनको क्षमता अनुसार सञ्चालनमा ल्याइएको छ,’ उनको भनाई थियो,‘फेवाताल संरक्षण गर्नु तपाई हामी सबैको ड्युटी हो।’ पोखरा महानगरपालिका फेवातालको संरक्षण, विकास र प्रवर्द्धन प्रति प्रतिबद्ध रहेको प्रमुख आचार्यले स्पष्ट पारे।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







