राष्ट्रिय खेलकुदः २ दिन बाँकी, सबै तयारी पूरा


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित




नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अब, काउन्ट डाउनमा २ दिन मात्रै बाँकी छन्।

प्रतियोगिताको असोज २८ गते औपचारिक रुपमा उद्घाटन हुने भनिएपनि प्रतियोगिताअन्तर्गत केही खेल भने सुरु भइसकेका छन्।

खेलअन्तर्गत पुरुष क्रिकेट सम्पन्न भइसकेको छ, भने महिला क्रिकेट आयोजनास्थल पोखरामा असोज २३ गतेदेखि सुरु भइसकेको छ। प्रतियोगिताकै महिला तथा पुरुषतर्फको ह्यान्डबल र फेन्सिङ सोमबारबाट सुरु भएको छ।

प्रतियोगिताका लागि आएका खेलाडीको चहलपहलले यतिखेर पर्यटकीय नगरी पोखरा खेलमय बनेको छ। कूल ३६ खेलमा प्रतिस्पर्धा हुने राष्ट्रिय खेलकुदमा क्यानोनिङ र छेलोको प्रदर्शनी खेल समेत हुने जनाइएको छ। प्रतियोगिता हुने खेलमध्ये अधिकांश पोखरामा नै हुनेछन् भने अन्य गण्डकी प्रदेशका लमजुङ, मनाङ र मुस्ताङ बाहेकका सबै जिल्लामा हुनेछन्। विसं २०३८ देखि सुरु राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत २०४० मा दोस्रो राष्ट्रिय खेलकद सम्पन्न गरेको पोखराले ४ दशकपछि घरेलु मैदानमा खेल गराउने सौभाग्य पाएको हो।

८ हजार खेलाडीसहित अफिसियल, प्रशिक्षकसमेत गरी करिब १० हजार व्यक्ति सहभागी हुने प्रतियोगिता आगामी असोज २८ गते राष्ट्रपति विद्यादेवी भण्डारीले समुदघाटन गर्ने कार्यक्रम छ। कात्तिक ३ गतेसम्म संचालन हुने प्रतियोगिताका लागि कास्कीसहित तनहुँ, स्याङ्जा, पर्वत, गोरखा, नवलपुर, म्याग्दी र बाग्लुङमा खेलस्थल तोकिएको खेलमैदान व्यवस्थापन उपसमितिका संयोजक एवं राष्ट्रिय खेलकुद परिषद्का सदस्य राजेशकुमार गुरुङले जानकारी दिएका छन्।

गण्डकीका सबै जिल्लामा राष्ट्रिय खेलकुदअन्तर्गत कम्तीमा १ खेल खेलाउने भनिएपनि पूर्वाधारलगायतका कारण लमजुङ, मनाङ र मुस्ताङमा भने यस पटक कुनैपनि प्रतियोगिता हुने छैनन्। ७ वटा प्रदेशसहित नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी गरी तीन विभागीय र एक गैर आवासीय नेपाली संघ (एनआरएनए) गरी कुल ११ टिमबीच प्रतिष्पर्धा हुनेछ। स्वर्ण ३९३, रजतः ३९३ र कास्य ६०० पदकाका लागि प्रतिस्पर्धा हुनेछ।

खेलकुदअन्तर्गत एथलेटिक्स, महिला क्रिकेट र ब्याडमिन्टन पोखरा रंगशालामा खेलाइनेछ। पुरुष फुटबल, टेनिस, बक्सिङ, भलिबल पुरुष, जिमन्याष्टिक, ह्याण्डबल पुरुष तथा महिला, सफ्ट टेनिस, स्क्वास र उसु प्रतियोगिता पोखरा रंगशालामा नै हुनेछन्।

यसैगरी, जुडो र ‘फुल कन्ट्याक्ट’ कराँते पोखराको प्रदर्शनी हल तथा शारीरिक सुगठन पोखरा सभागृहमा खेलाइने परिषद्ले जनाएको छ। पौडी पोखराका फिस्टेल एकेडेमी, हक्की महिला गण्डकी बोर्डिङ स्कुल, भारत्तोलन पोखरा उद्योग वाणिज्य संघको सभाहल, गल्फ पोखरा हिमालयन गल्फ कोर्स, साइक्लिङ, ट्रायथोलन र प्याराग्लाइडिङ पनि पोखरामै हुनेछ।

आर्चरी, फेन्सिङ पोखरा रंगशालामा हुनेछ। रग्बी भण्डारढिक खेल मैदान, कबड्डी महिला पुरुष दुवै रञ्जित पार्टी प्यालेस रानीपौवा, खोःखोः पोखरा रंगशालाभित्रको ह्याण्डबल एकेडेमीमा खेलाइने भएको छ। पोखरा र बाहिरका खेलमैदान राष्ट्रिय खेलकुदका लागि तयारी अवस्थामा रहेको संयोजक गुरुङले जानकारी दिएका छन्।

बाग्लुङमा आइटीएफ तेक्वान्दो

बागलुङमा आइटीएफ तेक्वान्दो प्रतियोगिता हुनेछ। सदरमुकामस्थित रामरेखा कर्भडहलमा सञ्चालन हुने सो खेलका लागि खेलस्थल सुधार, साजसज्जादेखि खेलाडीका लागि होटल व्यवस्थापनसम्मको काम भइरहेको छ। शनिबार विशेष समारोहमा प्रतियोगिता शुभारम्भ गरिने आइटीएफका केन्द्रीय सचिव एवं बागलुङ नगरपालिकाका उपप्रमुख राजु खड्काले जानकारी दिएका छन्।

‘प्रतियोगिता कात्तिक २ गतेसम्म चल्नेछ, मौसमले साथ दियो भने कभर्डहल बाहिर पनि खेल सञ्चालन गर्ने गरी तयारी भइरहेको छ’, उनले भने, ‘७ प्रदेश र ३ विभागीय टिमका गरी झण्डै ३ सय खेलाडी प्रतियोगितामा सहभागी हुँदैछन्।’

नगरप्रमुख वसन्तकुमार श्रेष्ठको संयोजकत्वमा गठित ५१ सदस्यीय प्रतियोगिता व्यवस्थापन समितिले व्यवस्थापकीय तयारीका कामलाई अघि बढाएको हो।

गण्डकी प्रदेशका आइटीएफ प्रशिक्षक आकाशचन्द्र घर्तीमगरले प्रतियोगितामा एकल स्पाइरिङ, टिम स्पाइरिङ, एकल प्याट्रन र टिम प्याट्रनमा प्रतिस्पर्धा हुने बताए। विभिन्न उमेर र तौल समूहका खेलाडीले प्रतियोगितामा भाग लिनेछन्।

‘गण्डकी प्रदेशबाट १४ पुरुष र ११ महिला खेलाडी भाग लिँदैछन्, खेलाडी अहिले बन्द प्रशिक्षणमा छन्, प्रशिक्षक घर्तीले भने, ‘आठौँ राष्ट्रिय खेलकुदमा भन्दा यसपालि गण्डकीले नतिजा सुधार्ने अपेक्षा छ।’

नेपालगञ्जमा भएको आठौँ राष्ट्रिय खेलकुदमा गण्डकीले १ स्वर्ण र ७ रजत पदक हात पारेको थियो। नवौँमा आइटीएफ तेक्वान्दोतर्फ २९ स्वर्ण, २९ रजत र ५८ कास्य पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगिताको मुख्य आयोजनास्थल पोखरा भएपनि जिल्ला तहमासमेत खेलस्थल तय हुँदा स्थानीय खेल पदाधिकारी र खेलप्रेमी उत्साहित छन्। जिल्ला खेलकुद विकास समितिका उपाध्यक्ष लोकेन्द्र केसीले प्रतियोगिताले खेलसँगै जिल्लाको पर्यटन प्रवद्र्धनमा पनि सघाउ पुग्ने बताए। खेलाडीलाई नजिकका पर्यटकीय गन्तव्यस्थल घुमाउन समितिले सहजीकरण गर्ने उनको भनाई छ।

‘राष्ट्रिय खेलकुदअन्तर्गतको प्रतियोगिता बागलुङमा आयोजना हुनु हाम्रा लागि महत्वको विषय हो, व्यवस्थापन र आतिथ्यतामा जिल्लाले कुशलता देखाउने मौका आएको छ’, उपाध्यक्ष केसीले भने, ‘देशभरबाट खेलाडी आउँदा जिल्लाको चिनारी बढ्छ, आन्तरिक पर्यटन प्रवद्र्धन हुन्छ।’

प्रदेशका अरु जिल्लालाई पनि राष्ट्रिय खेलकुद प्रतियोगिताको अपनत्व दिलाउन राष्ट्रिय खलेकुद परिषद्ले पोखरा बाहिरसमेत खेलस्थल छनोट गरेको हो।

दमौलीमा महिला बास्केटबल

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिता हुँदैछ। व्यास नगरपालिका–१ निर्मल माध्यमिक विद्यालय प्रांगणमा रहेको बास्केटबल कोर्टमा सञ्चालन हुने खेलको आवश्यक तयारी पूरा भएको जिल्ला खेलकुद विकास समिति तनहुँले जनाएको छ।

खेल सञ्चालनका लागि खेलमैदान तयार भइसकेको खेलकुद विकास समितिका अध्यक्ष अनिल पाण्डेले जानकारी दिएका छन्। उनका अनुसार खेलमैदानमा रंगरोगन, सरसफाई गरिएको छ भने मैदान सम्याउनका लागि ढलान गर्ने कार्य गरिएको छ। यहाँ रहेको २ वटा मैदानमा खेल सञ्चालन हुनेछ।

‘खेलमैदान तयार भइसकेको छ, खेलाडी राख्नका लागि होटलको व्यवस्थापन सकिएको छ,’ पाण्डेले भने, ‘स्थानीय सरकार, टोलवासी, दमौलीवासी खेललाई भव्य रुपमा सम्पन्न गराउन आतुर छन्।’

खेलमैदान नजिक चेन्जिङ रुम, शौचालय तयार गरिएको छ। खेलका लागि खेलाडी, अफिसियलसहित १५६ जना दमौली आउनेछन्। खेलाडी र अफिसियलका लागि होटल व्यवस्थापन राष्ट्रिय खेलकुद परिषद्ले गरिसकेको छ।

‘नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत एउटा खेल तनहुँमा हुनु तनहुँवासीको गौरवको विषय हो’, पाण्डेले भने।

खेलकुदलाई सुरक्षितरुपमा सम्पन्न गराउन जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरूसँग बैठक सम्पन्न भएको उनले जानकारी दिए। शान्ति सुरक्षालाई चुस्त बनाउन जिल्लास्थित प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुखहरुबाट सहयोगको प्रतिबद्धता व्यक्त भएको उनले बताए।

खेलको उद्घाटनको दिन दमौली बजारमा हरेक घर अगाडि घडा राख्ने, व्यानर राख्ने निर्णय गरिएको छ। प्रतियोगिता सम्पन्न गराउन व्यास नगरपालिका, विभिन्न टोलविकास संस्था, बजारवासीले प्रतिबद्धता जनाएका छन्। परिषद्का सदस्य एवं खेलस्थल उपसमितिका संयोजक राजेश गुरुङसहितको टोलीले गत असोज ४ गते खेलमैदानको निरीक्षण गर्दै तनहुँमा महिला बास्केटबल खेल सञ्चालन गर्न सकिने निष्कर्ष निकालेको थियो।

वालिङमा महिला फुटबल

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत स्याङ्जा जिल्लाको वालिङमा महिला फुटबल प्रतियोगिता हुनेछ। वालिङ नगरपालिका वडा नं ८ स्थित खेल मैदानमा हुने प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति स्याङ्जाका अध्यक्ष गिरीबहादुर (मोहन) गुरुङले जानकारी दिएका छन्।

असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म नवौं राष्ट्रिय खेलकुदका कार्यक्रम हुने भएपनि महिला फुटबल भने एक दिनअघि असोज २७ गतेबाट सञ्चालन हुने भएको हो। असोज २७ गते बिहीबारबाट प्रतियोगिता सुरु हुने भएपछि आज (बुधबार) सम्ममा सबै खेलाडीहरु वालिङ आइसक्ने उनले जानकारी दिएका छन्। वालिङ आउने अफिसियल, प्रशिक्षक, खेलाडी सबैलाई होटल व्यवसायीहरूसँगको समन्वयमा आवासको व्यवस्थापन मिलाइएको छ।

वालिङमा रहेको खेलमैदानलाई जिल्ला समन्वय समितिको पहलमा विशेष गरी वालिङ नगरपालिकासहित जिल्लाका ११ वटै पालिकाहरूको सहयोगमा दुबो लगाइएको छ। प्रतियोगिताका लागि अहिले खेल मैदान ब्यवस्थित गर्ने, तारबार गर्ने, झण्डाहरू राख्ने लगायतका काम भइरहेको उनले जानकारी दिएका छन्।

पर्वतमा कराँते

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत पर्वत जिल्लामा सञ्चालन हुने कराँतेको तयारी पूरा भएको छ। खेल सञ्चालन हुने भवनको भौतिक पूर्वाधारको काम सम्पन्न हुने चरणमा रहेको पुगेको जिल्ला खेलकुद विकास समिति पर्वतका अध्यक्ष हर्कमान गुरुङले जानकारी दिएका छन्।

त्यसैगरी, खेलाडीहरूका लागि होटल बुकिङको काम भैसकेको छ। प्रतियोगिताको अफिसियल टिम पर्वत आइपुगेर आवश्यक तयारीमा लागिरहेको उनले जानकारी दिएका छन्। उनका अनुसार प्रतियोगिता कुश्मा बजारको बगाउँस्थित जिल्ला खेलकुद विकास समितिको हलमा सञ्चालन हुने र अधिकांश तयारी पूरा भएको राम श्रेष्ठले जानकारी दिएका छन्।

कराँतेतर्फ ७ प्रदेश तथा आर्मी, प्रहरी, सशस्त्र प्रहरी तथा एनआरएनए सहित ११ वटा टिमले प्रतिष्पर्धा गर्नेछन्। प्रतियोगितामा ११ वटै टिमबाट ३२ जनाका दरमा करिब ४ सय खेलाडी, हरेक टिमका २/२ जना प्रशिक्षक र व्यवस्थापक, राष्ट्रिय र अन्तर्राष्ट्रिय समेत गरी १ सय ३० जना अफिसियलको सहभागिता रहने जनाइएको छ। प्रतियोगितामा सहभागी हुने खेलाडीहरू भने असोज २८ गते कुश्मा आइपुग्ने र उनीहरूका लागि विभिन्न होटलहरूमा खान बस्नको व्यवस्था मिलाइएको आयोजकले जनाएको छ।

त्यसैगरी, खेलाडीलाई नेपालकै अग्ला र लामा पुलहरु, विश्वकै अग्लो बञ्जी, विश्वकै लामो सुपरम्यान शैलीको जीपलाइलगायतका पर्यटकीय स्थलहरूको दृश्यावलोकनको व्यवस्था पनि मिलाइएको छ। पर्वत जिल्लामा हालसम्म राष्ट्रियस्तरका प्रतिष्पर्धा भएका छैनन्। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको कराँते खेल पर्वतमा आयोजना हुँदा पर्वतको खेलकुद तथा पर्यटन क्षेत्रको विकासमा ठूलो सहयोग पुग्ने जिल्ला खेलकुद विकास समितिका अध्यक्ष हर्कमान गुरुङले बताए।

बेनीमा महिला भलिबल र तेक्वान्दो

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तरगत म्याग्दीको बेनीमा महिला भलिबल र तेक्वान्दोको प्रतिस्पर्धा हुँदैछ। जिल्ला खेलकुद विकास समितिले खेलमैदान निर्माण, मर्मत, खेलाडीको आवास र अभ्यासस्थलको व्यवस्थापन गरेपनि बजेट र खेल सामग्री नआएको जनाएको छ।

समितिका अध्यक्ष दिनेश केसीले राष्ट्रिय खेलकुद परिषद्ले बिनियोजन र पदाधीकारीले घोषणा गरेको बजेट समयमा जिल्लामा नपठाउँदा तयारीका साथै व्यवस्थापन गर्न समस्या भएको जानकारी दिएका छन्। भलिबल सञ्चालन हुने बेनीको खुल्ला मञ्च खेलमैदानमा २ वटा भलिबलको कोर्ट निर्माण र प्याराफिट रंगरोगन गरिएको छ। बेनी नगरपालिकाले बनाएको खुल्लामञ्चको प्याराफिटमा रेलिङ हालेर रंग लगाइएको छ।

राखेपले पहिलो चरणमा तयारीका लागि रु. ५ लाख बजेट पठाउने घोषणा गरेपनि नपठाएको अध्यक्ष केसीले बताए। बेनी नगरपालिका लगायत जिल्लाका स्थानीय तह र समितिको आन्तरिक स्रोतबाट अहिलेसम्म तयारी गरेपनि राखेपबाट बजेट नआउँदा थप तयारी गर्न समस्या भएको छ।

महिला भलिबलमा सहभागि हुने गण्डकी, बागमती प्रदेश, नेपाली सेना, शसस्त्र र नेपाल प्रहरीका खेलाडीहरू बेनीमा आइसकेका जिल्ला भलिबल संघ म्याग्दीका अध्यक्ष तेजेन्द्र बानियाले बताए। तेक्वान्दोका खेलाडीहरू २६ गतेसम्म बेनी आइपुग्ने समितिले जनाएको छ।

प्रतियोगितामा खेलाडी, प्रशिक्षक र व्यवस्थापनका लागि ११ वटा टिमका ६१७ जना म्याग्दीमा आउँदैछन्। होटल व्यवसायी संघको समन्वयमा खेलाडीलाई राख्ने होटल व्यवस्थापन भएको छ। बेनी नगरपालिकाको ७ र ८ नम्बर वडा कार्यालयले अतिथि सत्कार, सरसफाई, झाँकी प्रदर्शनीका लागि विभिन्न उपसमिति बनाएर तयारी गरेका छन्।

गोरखामा बुद्धिचाल

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत गोरखामा हुन लागेको बुद्धिचाल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ। यहीँ असोज २७ गतेदेखि कात्तिक २ गतेसम्म गोरखा सदरमुकामस्थित गोरखा क्याम्पसको हाताभित्र हुन लागेको प्रतियोगिताका लागि आवश्यक पूर्वाधार निर्माणलगायतका व्यवस्थापनका काम अन्तिम चरणमा पुगेको जिल्ला खेलकुुद विकास समितिका अध्यक्ष शान्तसिंह बस्न्यातले जानकारी दिएका छन्। प्रतियोगितामा सहभागी हुने खेलाडी, अफिसियल तथा व्यवस्थापकका लागि होटल व्यवस्थापन, प्रतियोगिता हुने स्थानमा आबश्यक पूर्वाधार निर्माणको काम सम्पन्न भइसकेको उनले बताए।

कूल ११ टिमको सहभागिता हुने प्रतियोगितामा ७ प्रदेशका ७ टिम, ३ विभागीय टिम तथा एक गैर आवासीय संघको टिमले भाग लिनेछन्। हरेक टिमबाट ३ महिला र ३ पुरुष गरी कूल ६६ जना तथा नेपालका नेशनल च्याम्पियन पुरुषतर्फका खेलाडी, महिलातर्फका राष्ट्रिय च्याम्पियन खेलाडी तथा उच्च वरीयताका पुरुष खेलाडीको पनि प्रतियोगितामा सहभागिता रहने अध्यक्ष बस्न्यातले जानकारी दिएका छन्। त्यसबाहेक, अफिसियल र व्यवस्थापकहरुको प्रतियोगितामा सहभागिता रहने उनले बताए। प्रतियोगिताको खेल तालिका भने प्राप्त हुन बाँकी रहेको उनको भनाई छ।

नवलपुरमा कुस्ती र सेपाकताक्रो

पूर्वी नवलपरासीमा नवौँ राष्ट्रिय खेलकुदको तयारी अन्तिम चरणमा पुगेको छ। जिल्लामा कुस्ती र सेपाकताक्रोको प्रतियोगिता हुने र त्यसको तयारी तयारी अन्तिम चरणमा पुगेको जिल्ला खेलकुद विकास समिति नवलपुरका कार्यालय प्रमुख विष्णुलाल श्रेष्ठले जानकारी दिएका छन्।

प्रतियोगिताको कुस्तीतर्फ १ सय ५८ र सेपाताक्रोतर्फ ८४ जना गरी २ सय ४२ जना खेलाडीले भाग लिने उनले बताए।

प्रतियोगिताको कुस्ती थारु राष्ट्रिय संग्रहालय डन्डा र सेपाताक्रो कावासोतिस्थित योङ स्टार क्लबको कभर्डहलमा हुनेछ। असोज २९ गतेदेखि कात्र्तिक १ गतेसम्म खेल हुने जनाइएको छ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।