रुपन्देही–५ बाट खिमलाल भट्टराईको प्रतिनिधि सभामा उम्मेदवारी खारेज


     एभरेस्ट आवाज    
     असाेज २६ गते २०७९ मा प्रकाशित




नेकपा एमाले राष्ट्रिय सभा संसदीय दलका सचेतक खिमलाल भट्टराईको प्रतिनिधि सभा उम्मेदवारी खारेज भएको छ।
एनले राष्ट्रिय सभाबाट पनि आइतबारै सांसद् पद गुमाइसकेका छन्।

रुपन्देही–५ बाट प्रत्यक्षमा उम्मेदवारी दिने नेकपा एमालेका २ वटा उम्मेदवार भएपछि उनको खारेज गरिएको हो। एमालेबाट सबैभन्दा पहिला उम्मेदवारी दर्ता गरेका बासुदेव घिमिरेलाई निर्वाचन आयोगले आधिकारिकता दिएको छ।

आइतबार रूपन्देही–५ मा एमालेका २ जनाको उम्मेदवारी दर्ता भएको थियो। प्रतिनिधि सभाका लागि एमालेको तर्फबाट बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गराएका थिए। घिमिरेले दिउँसो साढे ३ बजे र भट्टराईले साँझ ५ बजे उम्मेदवारी दर्ता गराएका थिए।

भट्टराईले त्यसअघि राष्ट्रिय सभाबाट राजीनामा दिएका थिए। आइतबार दिउँसै सूचना टाँस गरेर राजीनामा समेत स्वीकृत भइसकेको संसद् सचिवालयले जनाएको छ।

एमालेले सुरुमा घिमिरेलाई टिकट दिएको थियो। भट्टराईले चर्को लबिङ गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मनोनयन दर्ता गर्ने अनुमति दिएका थिए।

निर्वाचन निर्देशिका–२०७९ मा एउटै पार्टीको २ वटा उम्मेदवारी परे पहिला जसले दर्ता गरायो उसैले आधिकारिकता पाउने उल्लेख छ।

प्रतिनिधिसभा सदस्य निर्वाचन निर्देशिका २०७९ को दफा १९ को (९) मा ‘दलले उम्मेदवारलाई औपचारिक पत्र प्रदान गर्दा एउटै पदमा एकभन्दा बढी व्यक्तिका लागि औपचारिक पत्र प्रदान गरेको आधारमा एकभन्दा बढी उम्मेदवारको मनोयनपत्र पेस भएमा पहिले मनोनयनपत्र दर्ता गर्ने व्यक्तिको मनोनयनपत्र कायम हुने’ उल्लेख छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।