पछिल्लो उपचार पद्धती, प्रविधि र टेक्नोलोजीबारे छलफल गर्न ५ देशका ३५० बढी फिजिसियनहरु पोखरामा


     एभरेस्ट आवाज    
     असाेज २८ गते २०७९ मा प्रकाशित




पोखरामा ५ देशका जनरल फिजिसियनहरु भेला भएका छन्।

सोसाइटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साइमन) को पाँचौं राष्ट्रिय सम्मेलनमा सहभागि हुन ५ देशका ३५० भन्दा बढी जनरल फिजिसियनहरु पोखरामा भेला भएका हुन्।

पोखराको एकमात्र पाँचतारे होटल ‘होटल पोखरा ग्राण्ड’मा हुने भेलामा नेपालसहित भारत, बंगलादेश, मालदिभ्स र वेलायतका जनरल फिजिसियनहरु सहभागी हुने सोसाइटी अफ ईन्टरनल मेडिसिन अफ नेपाल (साइमन) का अध्यक्ष तथा सहिद गंगालाल हृदयरोग अस्पतालका प्राडा अरुण मास्केले जानकारी दिएका छन्। नेपालका फिजिसियनहरु सम्मेलनमा सदस्यका रुपमा सहभागी हुनेछन् भने विदेशका फिजिसियनहरु अतिथिका रुपमा सहभागी हुनेछन्।

भेलाको पूर्व सन्ध्यामा विहीबार वर्कसप सञ्चालन गरिएको छ। रोयल कलेज अफ फिजिसियन (आरसीपी) ईडेनबरासँगको सहकार्यमा सञ्चालन गरिएको वर्कसपमा पाँचै देशका विषय विशेषज्ञहरुले सहजीकरण गर्ने अध्यक्ष मास्केले बताए।
‘वर्कसपले जनरल फिजिसियनहरुलाई थप अब्बल बनाउन सघाउँछ’, उनले भने।

सम्मेलनको अवसरमा अन्तर्राष्ट्रिय रुपमा उपचारमा अप्नाइएको पछिल्लो पद्धती, त्यसका लागि प्रयोगमा ल्याइएको प्रविधि र उपकरणलगायतबारे छलफल हुने साइमनले जनाएको छ। सम्मेलनमा ५० जना विषय विशेषज्ञ चिकित्सकहरुले कार्यपत्र प्रस्तुत गर्ने मास्केले जानकारी दिए।

उनका अनुसार मुटु, कलेजो, फोक्सो, मिर्गौला, नशा, पेटलगायतका रोगहरुका विषय विशेषज्ञहरुले हिजोको उपचार पद्धती, प्रविधि र उपकरणसँगै हाल अन्तर्राष्ट्रिय रुपमा अवलम्वन गरिएका उपचार पद्धती, प्रविधि र उपकरणबारे कार्यपत्र प्रस्तुत गर्नेछन्। जसमा नेपालको अभ्यास र अन्तर्राष्ट्रिय रुपमा अवलम्वन गरिएका उपचार पद्धती, प्रविधि र उपकरणको प्रयोगमा देखिएका चुनौतिबारे प्रष्ट्याइने बताइएको छ।

‘एभिडेन्स बेस्ड मेडिसिनबाट उपचार गर्न यसले महत्वपूर्ण योगदान दिनेछ’, उनले भने।

साइमन १९९९ बाट शुरु भएको हो। यसअघि, काठमाडौं र बिरगञ्जमा भएको सम्मेलन यस पटक पोखरामा हुन लागेको हो।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।