पोखरा, असोज २८
नवौं राष्ट्रिय खेलकुद महिला हक्कीको आज (शुक्रबार) भएको दोस्रो दिनको दोस्रो खेलमा गण्डकी प्रदेश विजयी भएको छ । आज भएको महिला हक्कीको खेलमा गण्डकी प्रदेशले लुम्बिनी प्रदेशलाई ८–० को गोल अन्तरले हराएको हो ।
खेलको पहिलो क्वार्टरमा गण्डकीका तर्फबाट ज्योति काफ्लेले गोल गर्दै अग्रता दिलाएकी थिईन् । खेलको सुरुआती ५ मिनेटमा नै ज्योतिले गोल गर्दै गण्डकीका लागि खाता खोलेकी थिईन् । खेलको १३ औं मिनेटमा गण्डकीकी सबिना पुन रानाले गोल गर्दै अग्रता दोब्बर पारिन् ।

खेलको दोस्रो क्वाटरमा लुम्बिनी प्रदेशकी गोलरक्षक पुनम डाँगी घाइते भइन् । उनको सट्टामा लुम्विनीले गोलरक्षक परिवर्तन गरेको थियो । घाइते खेलाडीलाई अस्पताल लगिएको छ । गोलरक्षा गर्दा उनको खुट्टामा चोट लागेको थियो ।
खेलको २९ औं मिनेटमा सृजना नेपालीले गण्डकीका लागि एक गोल गरेकी थिइन । खेलको तेस्रो क्वाटरमा गण्डकीले पुनः दुई गोल थप्यो । ३५ औं मिनेटमा सबिना पुन मगर र ३७ औं मिनेटमा सोनु बरालले गोल थपे ।
अन्तिम क्वाटरमा गण्डकीका लागि ज्योतिले पुनः ४८ औं मिनेटमा र ५१ मिनेटमा दुई गोल गरिन् ।
त्यस्तै ५७ औं मिनेटमा सबिना पुन मगरले गण्डकीका लागि व्यक्तिगत तेश्रो गोल गरिन् ।
यसअघि बिहीबार भएको खेलमा गण्डकीले प्रदेश १ लाई ७–० को गोल अन्तरले हराएको थियो । यस्तै आज (शुक्रबारै) भएको पहिलो खेलमा नेपाल आर्मीले ८–० को गोल अन्तरले मधेश प्रदेशलाई हराएको छ ।
सात टिम सहभागी रहेको प्रतियोगितामा दैनिक दुई खेल हुँदै आएका छन् । प्रतियोगिताको तेस्रो दिन शनिबार बागमति प्रदेश र नेपाल आर्मीबीच प्रतिस्पर्धा हुँदा सुदूरपश्चिम प्रदेश र मधेस प्रदेश मैदानमा उत्रिदै छन् ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







