तस्विर : नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी
पोखरा,२८ असोज ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आजदेखी पोखरा रङ्गशालाको टेनिस कोर्टमा टेनिस सुरु भएको छ । राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव टङ्कलाल घिसिङ एक कार्यक्रमकाबीच टेनिस खेलको सुभारम्भ गरे ।
सदस्य सचिव घिसिङले मुख्य टेनिस प्रशिक्षक रेणुदेवी कोण्डालाई टेनिस बल हस्तान्तरण गरेर प्रतियोगिताको सुभारम्भ गरेका थिए ।
टेनिसमा आयोजक गण्डकी प्रदेश सहित तीन विभागीय, मधेश, लुम्बिनी, बागमती, सुुदुरपश्चिम र एनआरएनए गरी नौ टोलीले भाग लिएका छन् ।
टेनिसमा महिला तथा पुरुष टिम इभेण्ट, महिला डबल्स, पुरुष डबल्स, मिक्स, महिला व्यक्तिगत र पुरुष व्यक्तिगत गरी सात विधामा प्रतिस्पर्धा हुने कास्की जिल्ला टेनिस संघका अध्यक्ष लोकबहादुर गुरुङले जानकारी दिए ।
प्रतियोगितामा सात स्वर्ण, सात रजत र १४ कास्यका लागि ८० जना खेलाडीकाबीच प्रतिस्पर्धा हुनेछ ।
टेनिसमा पुरुषतर्फ नेपालको नम्बर १ वरियताका खेलाडी प्रदीप खड्को गण्डकी प्रदेशबाट र महिलातर्फ शीर्ष वरियताका अभिलाशा विष्ट नेपाली सेनाको टोलीबाट खेल्नेछिन् ।
पोखरा रंगशालामा टेनिसका छ वटा कोर्ट छन् । चार वटामा टेनिस र दुईवटामा सफ्ट टेनिसका खेल हुने कास्की जिल्ला टेनिस संघका उपाध्यक्ष नविन चालिसेले जानकारी दिए ।
कार्यक्रममा सदस्य सचिव घिसिङले नीजि क्षेत्रको लगानीमा टेनिसका खेल पूर्वाधार निर्माण हुनु अत्यन्त प्रशंसनीय रहेको बताए । उनले प्रतियोगितामा सहभागी खेलाडीहरुलाई उच्चतम प्रदर्शन गरी विजयको शुभकामना व्यक्त गरे ।
उद्घाटनका अवसरमा नेपाल टेनिस संघका केन्द्रीय अध्यक्ष ज्योति राणा, गण्डकी प्रदेश खेलकुद परिषद्का निर्वतमान सदस्य सचिव तेजबहादुर गुरुङ, टेनिस संघका पदाधिकारी लगायतको उपस्थिति रहेको थियो ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







