तनहुँ । व्यास नगरपालिका–१ भादगाउँस्थित मादीनदी लिफ्ट खानेपानी आयोजनाको खानेपानी पाइप बिच्छ्याउने कार्य सुरु गरेको छ । वडामा कूल ५२ किलोमिटर दूरीमध्ये हाल सात किलोमिटर दूरीमा पाइप बिच्छ्याउने कार्य सम्पन्न भएको छ । करिब तीन फिट गहिरो खाडल खनेर पाइप पुर्ने कार्यका लागि जनशक्ति परिचालन गरिएको भादगाउँ खानेपानी तथा उपभोक्ता संस्थाका व्यवस्थापक ईश्वर श्रेष्ठले जानकारी दिए ।
व्यास नगरपालिका–४ को मादी नदी किनारबाट करिब पाँच किलोमिटर दूरीबाट पानी ल्याएर वडावासीलाई पानी वितरण गर्ने योजना रहेको छ । व्यास नगरपालिका–१ को अमिली भञ्याङमा चार लाख लिटर मुख्य ट्याङ्की र सोही वडाको भदु्रडाँडामा पचास हजार लिटर क्षमताको गरी दुई वटा रिर्जभ ट्याङ्की निर्माणकार्य भइरहेको छ ।
समितिले ट्याङ्की निर्माणको लागि करिब पाँच रोपनी जग्गा प्रयोगमा ल्याएर काम थालेको छ । रिजर्भ ट्याङ्कीको भूइँ ढलान गर्ने कार्य दसैंँअघि सम्पन्न गरी अहिले आरसीसी पर्खाल लगाउन थालिएको छ । मादी नदीबाट प्रतिसेकेण्ड २६ लिटर पानीको क्षमता रहने प्राविधिकले बताएका छन् ।पानी धान्न सक्ने किसिमको फिल्टर प्लान्ट निर्माण गरिनेछ ।
खानेपानी तथा ढल व्यवस्थापन विभागबाट छनोट भई बोलपत्रदाताले पेस गरेको ठेक्का कबोल खानेपानी आपूर्तितर्फ रु १५ करोड २४ लाख ३६ हजारमा सम्झौता भएको हो । उपभोक्ताबाट सङ्कलित पाँच प्रतिशत अर्थात् रु एक करोड ३१ लाख खातामा जम्मा गरिसकेपछि मात्रै आयोजनाको सम्झौता भएको संस्थाका अध्यक्ष चिजबहादुर दरैले बताए ।
नेपाल सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाको ३० प्रतिशत लगानीमा आयोजना सम्पन्न गर्ने लक्ष्य छ । विसं २०८० भदौभित्र आयोजना निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको हो । विसं २०५६ मा उक्त खानेपानी संस्था स्थापना भई ५२ वटा सार्वजनिक धाराबाट सुरुआत गरेको संस्थाले हालसम्म दुई हजार ६०० बढी निजी धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







