इरानको कारागारमा भीषण आगलागी 


     एभरेस्ट आवाज    
     असाेज ३१ गते २०७९ मा प्रकाशित




इरानको ‘कुख्यात’ कारागार एभिनमा शनिबार भीषण आगलागी भएको छ। यहाँ राजनीतिक बन्दी, पत्रकार र विदेशी नागरिकलाई थुन्ने गरिएको छ।

अनलाइनमा सेयर गरिएको भिडियो फुटेजहरूमा राजधानी तेहरानस्थित उक्त कारागारबाट आगोको धुवाँको मुस्लो निस्किरहेको देखिन्छ । गोली चलेको आवाज पनि सुनिन्छ।

एक सरकारी अधिकारीले स्थिति नियन्त्रणमा आइसकेको सरकारी सञ्चारमाध्यमलाई बताएपछि पनि भिडियो फुटेजमा निरन्तर आगो लागिरहेको देखिन्थ्यो।

पछिल्लो समय इरानमा नागरिकले सरकारविरुद्ध प्रदर्शन गर्दै आएका छन्। गएको महिना प्रहरी हिरासतमा २२ वर्षीया कुर्दिस इरानी महिला माहसा आमिनीको मृत्यु भएपछि पहिलोपटक त्यस्तो विरोध सुरु भएको थियो।

सरकारी अधिकारीहरूले हृदयाघातका कारण उनको मृत्यु भएको बताएका थिए। माहसाका आफन्तले भने नैतिकता कायम गर्न खटाइएका प्रहरीको पिटाइबाट उनको मृत्यु भएको दाबी गरेका थिए।

बीबीसी पर्सियाका लागि पत्रकार राना रहिमपुरले कारागारको घटना प्रदर्शनसँग सम्बन्धित रहे/नरहेको स्पष्ट नभएको बताएका छन्। विरोध प्रदर्शनका क्रममा समातिएका सयौँ व्यक्ति त्यहाँ थुनिएकाले सो सम्भावना पनि नकार्न नसकिने उनले बताएका छन्।

सरकारी सञ्चारमाध्यम इर्नाले भने आगलागीसँग प्रदर्शनको कुनै सम्बन्ध नरहेको उल्लेख गरेको छ । घटनामा आपराधिक तत्त्वको हात रहेको र आठजना जलेर घाइते भएको जनाएको छ। 


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।