अन्नपूर्ण पदमार्गमा बढे विदेशी पर्यटक


     एभरेस्ट आवाज    
     कार्तिक २ गते २०७९ मा प्रकाशित




मौसम खुलेसँगै विश्व चर्चित अन्नपूर्ण पदमार्गमा विदेशी पर्यटक पुन: देखिन थालेका छन् ।

दशैंको समयमा निरन्तर वर्षाले गत १९ गतेदेखि पदमार्गमा जान नसकेका पर्यटक यतिबेला मौसम खुलेसँगै केही दिनअघिबाट धमाधम आइरहेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीका पर्यटन सहायक क्षेत्रबहादुर गुरुङले बताए ।

दशैंका बेला दैनिक ८० भन्दाबढी पर्यटक आएपनि मौसम खराब भएसँगै शून्य जस्तै बनेको यस पदमार्गमा अहिले पुन: पर्यटकको चहलपहल देखिएको छ । अहिले दैनिक एक सयदेखि एक सय ५० जनासम्म पर्यटक आउन थालेको उक्त केन्द्रले बताएको छ ।

‘अन्य समयभन्दा दशैं, तिहारमा बढी पर्यटक आउँछन्, तर दशैंमा मौसम खराबीले आउन थालेका पर्यटक आउन नसके पनि यतिबेला फेरि बढेका छन् ।’

पदमार्ग आसपासका व्यापार व्यवसायसमेत फस्टाउन थालेको उनको भनाई छ ।

पर्यटक आगामी कात्तिक/मङ्सिरसम्म मात्र यस पदमार्गमा आउँछन् । पर्यटक अझै बढ्ने अपेक्षा पर्यटन व्यवसायीले गरेका छन् ।

यस पदमार्गमा पर्ने मस्र्याङ्दी गाउँपालिका वडा नं ४ जगतका पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले भने, ‘दशैंका बेला सुनसान भएको व्यवसाय यतिबेला पर्यटक आगमनले सास फेर्ने फुर्सद पनि नभएको जस्तै हुन थालेको छ ।’

पर्यटकको चाप बढ्न थालेसँगै आफ्नो होटल विदेशी पर्यटकले भरिन थालेकाले उनीहरूको सेवामा समय बित्ने गरेको उनको भनाइ छ । मस्र्याङ्दी गाउँपालिका–४ स्यागेका पर्यटन व्यवसायी तुल्सी गुरुङले पनि यतिबेला पर्यटक खचाखच रहेको बताए ।

‘होटलमा पर्यटक भरिन थालेका छन्, योभन्दा बढी राम्रो व्यापार हुन्थ्यो, तर केही दिनअघिको मौसमले गर्दा व्यवसायमा असर पुगेको छ,’ उनले भने ।

यसअघि, होटलमा आउन बुकिङ गरेका २०/२२ जनाको आठ समूहले बुकिङ रद्द गरेको उनले बताए । पर्यटक सीमित समयका लागि समय छुट्ट्याएर आएका हुन्छन् । तर १५/२० दिनको मौसम खराबले गर्दा उनीहरू फर्किनु पर्दा व्यवसायमा समेत असर परेको र आउन लागेका पर्यटकसमेत कम आएको उनले बताए ।

पर्यटकहरू हिमाल, पहाडका दृश्य, यस क्षेत्रको रीतिरिवाज, प्राकृतिक सुन्दरता अवलोकनका लागि आउने गर्दछन् । पर्यटक विशेष गरी थोराङला, लार्के र कालापास जाने गर्दछन् भने केही पर्यटक विश्वको अग्लो स्थानमा रहेको तिलिचो ताल हेर्न जाने गरेका छन् ।

उक्त पर्यटकीयस्थलका साथै मनाङका खर्क, घाँसेमैदान र फापर तथा उवा फूलेको दृश्यले पर्यटकलाई आकर्षित गर्ने गर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, कास्की, मुस्ताङ र म्याग्दी गरी पाँचओटा जिल्ला जोडिएका छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङ बेंसीशहर नगरपालिका–७ मा पर्दछ ।

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।