म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेस्थित संसारको गहिरो अन्धगल्छी–रुप्से झरना–बाजाढुंगा गुफा जोड्ने पदमार्ग निर्माण भएको छ ।
अन्नपूर्ण गाउँपालिकाको अनुदान सहयोगमा अन्धगल्छी नजिकैको काभ्रे गाउँदेखि रुप्से झरना हुँदै बाजाढुंगासम्म जोड्ने रेलिङसहितको पदमार्ग निर्माण भएको हो ।
यसैगरी, रुप्से झरनाको शिरको डाँडो सम्याएर वरपर रेलिङ राखी दृश्य अवलोकन गर्ने ठाउँ बनाइएको वडा सदस्य लालबहादुर पुनले जानकारी दिए । मुस्ताङ जाने र त्यहाँबाट फर्कने पर्यटकलाई अन्धगल्छी, रुप्से झरना र बाजाढुंगा अवलोकन गर्ने सुविधाका लागि पदमार्ग बनाइएको उनले बताए ।
रुप्से छहराको संरक्षण तथा पर्यटकीय विकास योजनाका लागि नेपाल सरकारको सशर्त अनुदानमा अन्नपूर्ण गाउँपालिकाले गत आर्थिक वर्ष २०७८/७९ मा रु. २० लाख विनियोजन गरेको थियो ।
अनुदानबाहेक थप रु. २ लाख १९ हजार बराबरको श्रमदान गरेर पूर्वाधार निर्माण भएको उपभोक्ता समितिका अध्यक्ष सुनिल पाइजाले बताए । काभ्रे गाउँको बेनी–जोमसोम सडकदेखि रुप्से झरना हुँदै बाजाढुंगा जोड्ने उकालो बाटोमा ढुंगाको सिँढीको करीब एक किलोमिटर पदमार्ग निर्माण भएको छ । उपभोक्ता समितिका अनुसार अप्ठ्यारो र जोखिमयुक्त ठाउँको पदमार्गको डिलतर्फ ४०० मिटर रेलिङ राखिएको छ ।
पदमार्गबाट अन्धगल्छीसँगै रुप्से झरना, पहाडी भूगोल अवलोकन गर्दै छुँदा बाजाको आवाज आउने ढुंगा भएको गुफासम्म पुग्न सकिन्छ । यसअघि बाजाढुंगासम्म पुग्ने साँघुरो र जोखिमयुक्त बाटो पदमार्ग बनेपछि सुरक्षित यात्रा गर्न सकिने भएको छ ।
अग्लो पहाडको टुप्पोमा गुफाभित्रका ढुंगाका माथिल्लो भाग हेर्दा पञ्चेबाजाका आकृति देखिन्छन् । यी आकृतिको आवाज पनि बाजाको जस्तै सुनिन्छ । ढुंगामा दमाहा, ढोलक र ट्याम्कुलीको आकृति देखिने माथिल्लो भागबाट आकृति अनुसारकै आवाज निस्कने गर्छ । यहाँ ढुंगाको अलौकिक कला र संगीत आश्चर्यजनक संयोजन छ ।
छङछङ गर्दैै बग्ने रुप्से झरनाको शिरमा रहेको बाजा ढुंगाबाट चिटिक्क मिलेको काभ्रे गाउँ, अन्नपूर्ण हिमशृंखलासमेत अवलोकन गर्न सकिन्छ । काभ्रे गाउँदेखि ३० मिनेट पैदल हिँडेपछि बाजाढुंगा पुग्न सकिन्छ । यस ढुंगाको नजीक भएर रुप्से झरना बग्ने र संसारको गहिरो अन्धगल्छीसमेत समीपमै रहेकाले यस क्षेत्रको एकीकृत पर्यटन विकासमा जुटेको वडा सदस्य पुनले बताए ।
धवलागिरि र अन्नपूर्ण हिमालको टुप्पोबाट नापिएको संसारकै गहिरो खोंच ‘अन्ध गल्छी’, मनमोहक रुप्से झरना र बाजा बज्ने ढुंगा नजीकको दूरीमा छन् । तीन ओटै पर्यटकीय स्थललाई समेटेर काभ्रे गाउँको प्रवेशद्वारमा जानकारीमूलक होडिङ बोर्ड राख्न पहल गरिएको रुप्से संगम युवा क्लबका अध्यक्ष सुनिल पाइजाले बताए ।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







