जनताको बिश्वासलाई कहिल्यै घात गर्ने छैन: कार्की


     एभरेस्ट आवाज    
     कार्तिक ३ गते २०७९ मा प्रकाशित




आगामी मंसीर ४ गते हुने प्रदेश सभा सदस्य निर्वाचनमा गण्डकी प्रदेशका लागि नेकपा एमालेको तर्फबाट कास्की निर्वाचन क्षेत्र नम्वर २ (क) का प्रत्यासी उम्मेदवार भीमबहादुर कार्कीले जनता र पार्टीले गरेको अपार विश्वास र मायामाथि आफूले कहिल्यै घात नगर्ने बताएका छन्।

नेकपा एमाले पोखरा वडा न ३३ को निर्वाचन परिचालन कमिटिको कार्यालयको उद्घाटन गर्दै कार्कीले आफ्नो क्षेत्रका जनताले निरन्तर विश्वास गरेर आफ्नो पार्टीलाई विजयी गराएको र निर्वाचित जनप्रतिनिधिहरूले उदाहरणीय कार्य गरेको बताए।

विगतमा आफ्नो पार्टीका कार्यहरूको विवरण प्रस्तुत गर्दै कार्कीले अबको ५ वर्ष जनताको शीर अझै उँचो हुनेगरी काम गर्ने प्रतिवद्धता जनाए।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा भूमी व्यवस्थापन विभाग उपप्रमुखसमेत रहेका कार्कीले एमाले नेतृत्वको सरकारका पालामा आफू सदस्य रहँदा आम भूमिहिन तथा अव्यवस्थित बसोबास गर्ने जनताको पक्षमा काम गर्दागर्दै वर्तमान सरकारले हटाएको स्मरण गरे।

कार्कीले भने, ‘अव बन्ने एमालेको सरकारले उनीहरूलाई जग्गाको मालिक बनाउने गरी काम गर्ने हुँदा सोको लागि बहुमत सहितको सरकार निर्माण गर्न सबैलाइ आव्हान गर्दछु।’

एमाले सधै राष्ट्रहित र समृद्धिका लागि अहोरात्र खटेको बताउँदै अवको ५ वर्ष खेर नजाने गरी आफू जनताको काममा खट्ने उनको प्रतिबद्धता थियो।

कार्यक्रममा एमाले जिल्ला कमिटिका कार्यवाहक अध्यक्ष तेजनारायण अधिकारीले विगतको इतिहासलाई झन उचाई दिनेगरी निर्वाचनको मैदानमा उत्रन आग्रह गरे। एनले कास्कीमा एक मात्रै विकासको नायक एमाले भएको जिकिर गरे। अधिकारीले सो क्षेत्रका आफ्नो पार्टीको सरकारले संचालन गरिरहेका अधिकांश योजनाको बजेट कटौती र रकमान्तरण गर्ने काम वर्तमान सरकारले गरेकोतर्फ जानकार हुन जनतालाई आग्रह समेत गरे।

कार्यक्रममा एमाले प्रदेश कमिटि सदस्य केशव आचार्य , जिल्ला कमिटी सचिवालय सदस्य शिवप्रसाद आचार्य, एमाले पोखरा ३३ का अध्यक्ष दिपकराज लामिछाने, उपसचिव शंकरबहादुर अधिकारी, अनेम संघ क्षेत्र २ (क) का संयोजक पार्वती कार्कीलगायतले बोलेका थिए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।