तनहुँ । जिल्लाको भीमाद नगरपालिका कार्यालयले अभियानकैरुपमा नगरपालिकाभित्रका सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरेको छ । ‘एक विद्यालय, एक कम्प्युटर’ अभियानअन्तर्गत ४३ वटा विद्यालयमा कम्प्युटर वितरण गरिएकाले विद्यालयका कामकाजका लागि अरुको भर पर्नुपर्ने समस्या अन्त्य भएको छ ।
शैक्षिक गुणस्तर सुधार गर्नका लागि आफ्नो क्षेत्रभित्रका सबै सामुदायिक विद्यालयलाई कम्प्युटर वितरण गरिएको नगरपालिकाले जनाएको छ । सामुदायिक विद्यालयका सबै शिक्षक शिक्षिकालाई आइसिटी तालिम प्रदान गरेर कम्प्युटर दिइएकाले प्रश्नपत्र बनाउन र अन्य कामकाजका लागि भीमादसम्म आउन नपरेको र कसैको सहारा लिन पनि नपरेको नगरपालिकाकी सूचना अधिकारी टेकावती ढकालले जानकारी दिए ।
जनज्योति र सिद्धार्थ माध्यमिक विद्यालय नमूना विद्यालयका रुपमा स्थापित भएका छन् । उक्त दुई विद्यालयमा कम्प्युटर शिक्षासम्बन्धी पढाइसमेत हँुदै आएको छ । नगरपालिकाभित्रका दुई वटा आधारभूत र एक माध्यमिक विद्यालयमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रमअन्तर्गत चारकोठे नयाँ भवन निर्माण गरिएको छ ।
सामुदायिक विद्यालयको अनुगमन एवं नियमन कार्यलाई प्रभावकारी बनाई सरकारी नीति नियमको पूर्ण पालना गर्न थप जिम्मेवार बनाइएको नगरप्रमुख दधीराज सुवेदीले जानकारी दिए । प्रारम्भिक बालविकास केन्द्रलाई विद्यालय शिक्षाको अभिन्न अङ्गको रुपमा विकास गरी आवश्यकताका आधारमा सिकाइ वातावरण सुधार, सहजकर्ताको क्षमता विकास एवं प्रोत्साहनको व्यवस्था मिलाइएको छ ।
विद्यालय तहदेखि खेलमा प्रतिभा प्रस्फुटनको वातावरण सिर्जना गर्न विद्यालयस्तरीय खेलकुदमा प्रोत्साहन गर्नाका साथै मेयर कप प्रतियोगितालाई निरन्तरता दिने योजना रहेको उनले बताए । अङ्ग्रेजी माध्यममा पढाइ तथा सूचना प्रविधि सम्बन्धमा शिक्षकको क्षमता विकास गर्नाका साथै कक्षाकोठामा आधारित पेशागत पद्धतिलाई सुदृढ बनाउने गरी काम अघि बढाइएको छ ।
विद्यालयको शिक्षालाई गुणस्तरीय, पहुँचयोग्य, प्रतिस्पर्धी र जीवनोपयोगी बनाउन नगरपालिका लागेको छ । नगर शिक्षा योजनालाई सरोकारवालाको सुझावअनुरुप परिमार्जन गरी कार्यान्वयनका लागि उचित व्यवस्था मिलाइएको प्रमुख प्रशासकीय अधिकृत टेकनाथ दाहालले जानकारी दिए ।रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


सामान्यतः फागुनदेखि वैशाखसम्म चल्ने हावाहुरी यस वर्ष मङ्सिरदेखि नै सुरु भएपछि उत्तरी…







