माछापुच्छ्रे गाउँपालिका जोड्ने सडक चाँडै सम्पन्न गर्न पहल गछौँ : उम्मेदवार भण्डारी


     एभरेस्ट आवाज    
     कार्तिक १४ गते २०७९ मा प्रकाशित




पोखरा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाको केन्द्र जोड्ने सडकमा लामो समयदेखी काम हुन सकेको छैन । ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण सो सडक अहिले अलपत्र छ ।


निर्माण कम्पनीले निर्धारित समयमा काम नगरेपछि स्थानीय आक्रोशित छन् । सोमबार गाउँपालिकाको लाहाचोकमा घरदैलोका क्रममा स्थानीयले पालिकाको गौरवको सो सडक चाँडै सम्पन्न गर्न गठबन्धनका साझा उम्मेदवार दुर्गादत्त भण्डारीसँग माग गरेका छन् ।

उनीहरुले डेढ वर्षअघि सम्पन्न हुनुपर्ने सो सडकमा अहिलेसम्म पनि कालापत्रेको काम नभएको भन्दै काम सुरु गर्न पहल गरिदिन आग्रह गरे ।

स्थानीय साजन अधिकारीले गाउँपालिका जोड्ने सडक निर्माणमा निर्माण कम्पनीले ढिलासुस्तीका कारण आफूहरुले दुःख पाएको बताए । “हामीले सडक छिटो सम्पन्न गर्न पटक पटक आवाज उठाएका छौँ तर सुनुवाई भएको छैन ।” अधिकारीले भने,“गाउँपालिका आउजाउ गर्ने मुख्य सडक लामो समयदेखी अलपत्र पर्दा दुःख भोग्न बाध्य छौँ । गाउँपालिका र प्रदेश सरकारले दवाव दिनु पर्दछ, हाम्रो बाटो छिटो बन्नुपर्‍यो ”

गण्डकी प्रदेशका अर्थमन्त्री रामजी प्रसाद बरालको पहलमा गाउँपालिका जोड्ने सो सडकको काम अघि बढेको हो । सुरुमा प्रदेश सरकारको एक निर्वाचन क्षेत्र एक सडक योजना अन्तर्गत सोही क्षेत्रका सांसद बरालले सो सडक छनोट गरेका थिए । प्रदेश सरकारको रु १० करोड लगानीमा सडक निर्माणको ठेक्का सम्झौता भएको थियो ।

स्थानीयले लाहाचोक ज्ञानज्योति बोर्डिङदेखी जोगीचौरसम्मको सडक पनि ठेक्का सम्झौता भएको लामो समयसम्म काम सुरु नभएकामा चिन्ता व्यक्त गरे ।

गठबन्धनका साझा उम्मेदवार भण्डारीले पालिका जोड्ने सडक छिटो सम्पन्न गर्नका लागि आफ्नो तर्फबाट पहल गर्ने प्रतिवता जनाए । उनले पहिला यसका बारेमा बुझेर प्रदेश सरकारसम्म जनताका गुनासा लैजाने बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।