घाचोकमा प्राविधिक शिक्षालय स्थापनामा पहल गछौँः गठबन्धन उम्मेदवार


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित




पोखरा । कास्की क्षेत्र नं. ३ अन्र्तगत पाँच दलिय गठबन्धनका साँझा उम्मेदवारहरुले माछापुच्छ्रे गाउँपालिका ३ घाचोकमा प्राविधिक शिक्षालय स्थापना गर्न पहल गर्ने बताएका छन् ।

शुक्रवार वडा स्थित गठबन्धनको सम्पर्क कार्यालय उद्घाटन गर्दै प्रतिनिधिसभा उम्मेद्वार रामजीप्रसाद बराल तथा ३(१) प्रदेशसभा उम्मेदवार दुर्गादत्त भण्डारीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् ।

उनीरुले घाचोकमा प्राविधिक शिक्षालयको खाँचो औँल्याउदै त्यहाँको सम्पूर्ण पक्ष अध्ययन गरी विषय छनोट गर्नुपर्ने पनि स्पष्ट पारे ।

प्रतिनिधिसभा उम्मेद्वार रामजीप्रसाद बरालले घाचोकको विकासमा आफू प्रतिबद्ध रहेको सुनाउँदै सेतीनदी माथिको रातोपहिरो पूल निर्माण सम्पन्न भएपछि त्यस क्षेत्रवासीको जीवनस्तर बदलिने विश्वास व्यक्त गरे । उनले राजनीतिक स्थीरताका लागि गठबन्धनको जीत आवश्यक रहेको छ भन्दै त्यसका लागि गोलाकार भित्रको हसियाँ हथौडा चिन्हमा मतदान गर्न आग्रह गरे ।

प्रदेशसभा उम्मेदवार दुर्गादत्त भण्डारीले घाचोकवासीको समस्या पहिचान गरी प्राथमिकीकरणका आधारमा समाधान गर्न पहल गरिने स्पष्ट पारे । उनले प्राविधिक शिक्षालय स्थापना लगायत घाचोक स्थित मोटरबाटाहरुको स्तर उन्नतीमा आफूले विशेष पहल गर्ने औल्याए ।

कांग्रेस महासमिति सदस्य रामचन्द्र त्रिपाठीले गठबन्धनका उम्मेदवारलाई हर हालतमा जिताउनुपर्ने भन्दै यदि अप्रत्यासित नतिजा आए देश पुनः प्रतिगमनतर्फ घकेलिने स्पष्ट पारे ।

नेपाली कांग्रेस माछापुच्छ्रे गाउँपालिका सभापति वीरेन्द्र गुरुङले कांग्रेस नेतृत्वको गठबन्धन मुलुकको स्वाधिनता रक्षाका लागि गरिएको जनाउँदै त्यसले मात्रै समृद्धि ल्याउने बताए ।

त्यस अवसरमा नेकपा (एकीकृत समाजवादी)का केन्द्रीय सदस्य प्रेम पौडेल, गठबन्धनमा नेताहरु शंकर कार्की, कृष्णकुमार श्रेष्ठ, श्रीराम पोखरेल लगायतले धारणा राखेका थिए ।

यसैबीच आजै गठबन्धनको माछापुच्छ्रे गाउँपालिका वडा नं. १ को सम्पर्क कार्यालय पनि उद्घाटन गरिएको छ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।