गठबन्धन सरकारबाटै सुकुम्बासीलाई लालपूर्जा : कोइराला


     एभरेस्ट आवाज    
     कार्तिक १८ गते २०७९ मा प्रकाशित




पोखरा । कास्की निर्वाचन क्षेत्र नम्बर १(१) मा पाँच दलीय गठबन्धनका साझा उम्मेदवार दीपक कोइरालाले गठबन्धनले नजित्दा भूमिहीनलाई जग्गाधनी पूर्जा बाँड्ने प्रक्रिया उल्टिने खतरा औंल्याएका छन् ।

माओवादी केन्द्रबाट प्रदेशसभा सदस्य उम्मेदवार कोइरालाले पोखरा–२९ पट्नेरीमा सुकुम्बासीको भेलालाई सम्बोधन गर्दै उनले गठबन्धन सरकारले नै लालपूर्जा वितरण गर्ने बताए ।

माओवादी केन्द्रले पाँच वर्षमा भूमिहीनलाई जग्गाधनी पूर्जा वितरण गर्ने प्रतिवद्धता गरेकोमा हाल गठबन्धन सरकारले उक्त काम गरिरहेको उनले सुनाए । ‘लालपूर्जा वितरण, निस्सा वितरण सुरु गरिसकेको र केहीले मात्रै प्राप्त गर्न बाँकी छ,’ उनले भने, ‘अबको चुनावबाट गठबन्धनको सरकार बनेर बाँकी काम पूरा हुन्छ । होइन भने त्यो प्रक्रिया पछाडि फर्किने सम्भावना छ ।’

गठबन्धन बाहेकको सरकार बन्दा सुकुम्बासीलाई भोट बैंक बनाइरहने प्रवृत्ति दोहोरिने उनको भनाइ थियो । ‘सुकुम्बासी नै भएनन् भने अरु दलले राजनीति गर्ने ठाउँ नै पाउँदैनन्,’ उनले भने, ‘त्यसका लागि पनि गठबन्धन बाहेकको दलले यो समस्य अन्त्य होस् भन्ने चाहँदैन । अर्को सरकार बन्यो भने फेरि नयाँ शिराबाट प्रक्रिया सुरु हुन्छ ।’

पोखरा महानगरपालिकामा एमालेबाट निर्वाचित मेयर हुँदा नै निस्सा वितरण गर्न नमान्दा आन्दोलन नै गर्नुपरेको उनले स्मरण गरे । भने, ‘अहिले महानगरको मेयर पनि गठबन्धनकै दलको हुनुहुन्छ । अब बन्ने प्रदेश र संघ सरकारमा पनि पाँच दलीय गठबन्धन आउँदा भूमिहीन समस्या छिटो समाधान हुन्छ ।’


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।