म्याग्दीको रघुगंगामा भेडा मर्न थालेपछि किसान मर्कामा


     एभरेस्ट आवाज    
     कार्तिक २२ गते २०७९ मा प्रकाशित




म्याग्दीको रघुगंगा गाउँपालिका–६ ठाडखानी क्षेत्रमा किसानले पालेका भेडा मर्न थालेपछि यहाँका किसान मर्कामा परेका छन् ।

२ महीनायता भेडाले घाँस नखाने, च्यापु सुनिनेलगायतका लक्षण देखिएर मर्न थालेपछि किसान चिन्तित बनेका हुन् । भेडा मर्न थालेपछि ठूलो क्षति भएको स्थानीय भेडापालक किसान यामबहादुर छन्त्यालले बताए ।

उनका अनुसार दुई महीनामा उनका मात्रै २४ भेडा मरेका छन् । साना पाठापाठीदेखि ठूला भेडाखसी मरेर क्षति पुगेको उनले बताए । ठाडाखानीमा पूर्णबहादुर छन्त्यालले १७ भेडा मरेका बताए । यहाँका करीब तीन दर्जनभन्दा बढी घरमा परम्परागत रूपमा भेडापालन हुँदै आएको छ ।

भेडापालनको पकेट क्षेत्रका रूपमा यहाँ सिद्ध भेडापालन र मालिका भेडापालन दुई समूहमा गरिँदै आएको छ । भेडा मर्न थालेपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रमार्फत पशु चिकित्सकको टोली गोठमै पुगेर भेडाबाख्राको स्वास्थ्य जाँच तथा रगतको नमूना संकनल गरिएको छ ।

कार्यालय प्रमुख जीवन आचार्यले आन्तरिक र बाह्य परजीवीको संक्रमणले भेडा मरेको बताए । उनले उपचारका लागि आवश्यक औषधि खरीद गर्न गाउँपालिकालाई आग्रह गरिएको बताए ।

‘खोरमा भेडापालन भएकाले एउटै ठाउँमा सधैं राखिरहने र खोरको उचित व्यवस्थापन नहुँदा किर्ना, जुकालगायतको समस्या बढी हुने गर्छ,’ उनले भने, ‘किसानलाई खोरको सरसफाइ र भेडाको उचित हेरविचार गर्न समेत सुझाएका छौं ।’

रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।