राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा मीनबहादुर श्रेष्ठले म्याग्दीको पश्चिमी क्षेत्र हुँदै ढोरपाटनलाई जोडेर मध्य पहाडी लोकमार्गको वैकल्पिक सडक बनाउन सकिने बताएका छन् ।
ढोरपाटन जोड्ने सडकलाई मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक बनाउने र धौलागिरि चक्रीय पदमार्गलाई व्यवस्थित गरेर पर्यटकलाई आकर्षित गर्न सक्ने हो भने म्याग्दीको विकासका लागि कोसेढुंगा साबित हुने उनको भनाई छ ।
नेकपा माओवादी केन्द्रका समानुपातिक उम्मेदवारसमेत रहेका डा श्रेष्ठले आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनको प्रचार–प्रसार अभियानका क्रममा मध्य पहाडीको बागलुङभन्दा म्याग्दी भएर ढोरपाटन जोड्ने सडक ६० किलोमिटर छोटो हुने भएकाले वैकल्पिक बनाउन सकिने बताए । प्रचार–प्रसार अभियान वाम लोकतान्त्रिक पक्षका तर्फबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार खमबहादुर गर्बुजा (खम्बिर)ले ताकमकोत, धौलागिरि चक्रीय पदमार्ग र गुर्जा हिमालको पर्यटन विकासका लागि पूर्वाधार निर्माणका साथै प्रचार–प्रसार र व्यवस्थापनमा प्राथमिकता दिने बताए ।
पर्यटनको विकास गरेर सहर र विदेशमा गएकालाई गाउँ फर्काउने तथा आय–आर्जनको अवसर सिर्जना गराउन सकिने बताए । प्रदेशसभा (२) मा गठबन्धनका उम्मेदवार रेशमबहादुर जुग्जालीले धवलागिरि गाउँपालिकालाई जलविद्युत् र जडीबुटीको माध्यमबाट समृद्ध गराउने योजना सुनाए । यसैगरी, नेकपा एमालेका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार हरिकृष्ण श्रेष्ठले म्याग्दीको समग्र विकासका लागि जलविद्युत्, पर्यटन र सडक आफ्नो प्राथमिकताका ‘एजेन्डा’ हरु रहेका बताउँदै बेनी–जोमसोम–उपल्लो मुस्ताङसम्मको सडक स्तरोन्नति गरी कालोपत्र गर्नाका साथै कोरलानाका खुलाएर २ देशीय व्यापार प्रवद्र्धन गर्न सक्ने हो भने मात्र जिल्लाको समृद्धिको सपना पूरा हुने बताए ।
एमाले म्याग्दीका अध्यक्ष एवं प्रदेशसभा(१) का उम्मेदवार देवेन्द्रबहादुर कटुवालले आफू यसअघि जनप्रतिनिधिको भूमिकामा रहेर जिल्लाको समग्र विकासमा पहल गरेको बताए । यसैगरी, मंगला गाउँपालिका–२, बाबियाचौरमा प्रदेशसभा (२) का उम्मेदवार यामबहादुर गर्बुजाले देशमा भौतिक पूर्वाधारको विकास तथा निर्माण गरी देशलाई अग्रगमनको गतिमा अगाडि बढाउनु आवश्यक रहेको बताए । म्याग्दीमा प्रतिनिधि र प्रदेशसभाका ३ पदका लागि १९ जना चुनावी मैदानमा छन् । प्रतिनिधिसभामा ३ जना स्वतन्त्रसहित ९, प्रदेशसभा क्षेत्र (१) र (२) मा ५/५ जना उम्मेदवार छन् ।
विसं २०५६ मा काँग्रेस, २०६४ मा माओवादी, २०७० र २०७४ मा एमालेले म्याग्दीमा प्रतिनिधिसभा सदस्य निर्वाचन जितेका छन् । प्रजातन्त्र पुनस्र्थापनापछि २०५६ अघिको संसदीय चुनाव पनि एमालेले जितेको थियो । २०७४ मा एकवटा प्रदेशसभा माओवादी र एकवटा एमालेले जितेका थिए ।
गत स्थानीय तह निर्वाचनमा एमालेले ४ वटा पालिका प्रमुख, ३ उपप्रमुख, २२ वडा, काँग्रेसले २ अध्यक्ष, १ उपाध्यक्ष, १७ वडा, माओवादीले २ उपप्रमुख र ६ वटा वडा जितेका थिए । स्थानीय चुनावमा एमालेका वडाध्यक्षका उम्मेदवारले २३ हजार ९०, काँग्रेसले १९ हजार ८ सय ७० र माओवादीले ८ हजार ५ सय ९२ मत ल्याएका थिए । प्रतिनिधिसभामा १ र प्रदेशसभामा २ क्षेत्र रहेको म्याग्दीमा प्रदेशसभा क्षेत्र (१) मा ४८ हजार ४ सय ७२, प्रदेशसभा क्षेत्र (२) मा ३७ हजार ६ सय ४८ गरी ८६ हजार १ सय २० जना मतदाता छन्।
रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


रसुवाको भोटेकोशी नदीमा बुधबार बिहान आएको बाढीले बगाएर तनहुँको त्रिशुली नदी किनारमा…





