, , ,

प्रकाश बराल : कास्केली राजनीतिमा उदाउँदो नक्षत्र


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित




पोखरा, कात्तिक २३

भनिन्छ, अवसर पायो भने हरेक मान्छे नायक बन्न सक्छ । तर कतिले त्यो अवसर नै पाउँदैन् । रत नायक नबन्दै कयौं मान्छेको ईहलिला समाप्त हुन्छ । तर कतिपयले अवसर पाउँछन् र आफूलाई प्रमाणित गर्दै ईतिहासमा आफ्नो नाम लेखाउँछन् । आगामी मंसिर ४ गते हुने निर्वाचनमा यस्तै नायक हुने अवसर कतिले पाउँछन् त्यो हेर्न बाँकी छ । तर कास्की क्षेत्र नम्बर–३ को-२ का गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार बनेका प्रकाश बराल तिनै कम भाग्यमानी मध्येका एक हुन सक्छन् । कास्की क्षेत्र नम्बर–३ को-२ मा पोखरा महानगरपालिका वडा नम्बर ५, ६, २२, २३, २४, अन्नपूर्ण गाउँपालिकाका पर्दछ ।

युवा उम्मेदवार बराल बल्ल ४४ वर्षका भए । पोखरा–२२ पुम्दीभुम्दीस्थित लुकुनस्वाँरामा शिक्षक बुबा लोकराज बराल र आमा मञ्जु बरालको पहिलो सन्तानका रुपमा प्रकाशको जन्म वि।सं। २०३५ मङ्सिर ३० गते भएको थियो । लुकुन स्वाँराकै शुक्रराज माध्यमिक विद्यालयबाट अक्षर चिन्न सुरु गरेका प्रकाश पछि मावली घर पर्वत ज्ञाँदीको पूर्णेश्वर माध्यमकि विद्यालयमा भर्ना भए । कक्षा ८ बाट त्यहाँ अध्ययन शुरु गरेका बरालले त्यहि विद्यालयबाट वि।सं। २०५० सालमा एसएलसी उत्तीर्ण गरे । स्कुल जीवन सकेर उच्च शिक्षा अध्ययनका लागि नेपालकै सबैभन्दा ठूलो विद्यार्थी संख्या भएको पोखराको पृथ्वीनारायण क्याम्पस गए । त्यहाँबाट आईए पास गरेका प्रकाशले जनप्रिय बहुमुखी क्याम्पस पोखराबाट विविएस उत्तिर्ण गरेका छन् ।

सानै उमेरदेखि समाज र राष्ट्रका लागि केहि गर्नुपर्छ भन्ने उद्देश्य लिएका प्रकाशले १८ वर्षकै उमेरमा जागिरे जीवन शुरु गरे । वि।सं। २०५२ सालमा आइकम सकेका प्रकाशले राष्ट्रिय खेलकुद परिषद्मा २०५३ सालबाट जागिर खाए । उनले जगिरे जीवनको शुरुवातमा मानव सूचाङ्कमा सबभन्दा पछाडि परेको बाजुरामा १६ महिना बिताए । तर राजनीतिक कारण देखाएर जागिरबाट निकालिएपछि उनी अदालत गए र २०५४ सालमा सर्वोच्चको फैसला उनको पक्षमा आएपछि उनी पुर्नस्थापित भए । त्यसपछि नै हो उनलाई जागिरसँगै राजनीतिपनि गर्नुपर्ने रहेछ भन्ने महशुष भएको । २०५५ साल वैशाखमा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समिति पोखरामा सह–लेखापालको रूपमा सरुवा भए । २६ वर्षसम्म निरन्तर राखेपको नायव सुब्बा पदमा रहेर सेवा गरेका प्रकाशले कास्की–३ (२)बाट टिकट पाउने पक्का भएपछि जिल्ला खेलकुद विकास समिति कास्कीको कार्यालय प्रमुख पदबाट अवकाश लिए ।

जागिर खाएकाले टिकट ल्याएर पुराना नेतालाई पाखा लगायो भन्ने उनीमाथि आरोप छ । तर यो आरोप प्रकाशलाई नबुझ्नेहरुले लगाएको आरोप मात्र हो । किनकी उनी १४ वर्षको किशोरावस्थादेखि नै कांग्रेसको राजनीतिमा प्रवेश गरेका थिए । उनी सानै उमेरमा पञ्चायती शासनबिरुद्ध सडकमा नारालगाएको अहिलेपनि झलझल्ती सम्झिन्छन् । कांग्रेस निकट नेपाल विद्यार्थी संघबाट राजनीति शुरु गरेका उनी नेविसंघको कलम र मसाल अङ्कित झण्डा घरमा राख्थे । २०४९ सालमा १४ वर्षको उमेरमा नै नेविसंघमा आवद्ध भए ।

नेपाली काँग्रेस विभाजन हुँदा बाजुराबाट सरुवा भएर पोखरा आएका प्रकाशले नेपाली काँग्रेस पुम्दीभुम्दी गाविस गाउँ कार्य समितिको सचिव भएर कांग्रेसलाई एकजुट बनाईराख्न भूमिका खेले । उनी जागिरसँगै राजनीतिमा सँधै क्रियाशील र सक्रिय भईरहे । दुई कार्यकाल पुम्दीभुम्दी गाउँ कार्यसमितिमा सचिव भएर काम गरेका अनुभवी प्रकाश नेपाल विद्यार्थी संघको कास्की जिल्ला कोषाध्यक्ष र जनप्रिय बहुमुखी क्याम्पस एकाइ सभापति भएर विद्यार्थी माझ लोकप्रिय छवी बनाएका नेता हुन् । २०६२÷०६३ को जनआन्दोलनमापनि सकृय सहभागिता जनाएका प्रकाशले त्यसबेला गरिएको सत्याग्रह रिले अनसनमा पनि सहभागिता जनाए । उनी जनआन्दोलनका घाइते पनि हुन् । शरीरको दायाँ भागमा प्रहरी दमनको खत र पीडा अझै रहेका उनले जनआन्दोलनको घाइतेको परिचयपत्रसमेत पाएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रमुख सचिव रहेका प्रकाश नेपाली काँग्रेसको ११ औ महाधिवेशनमा गाउँ कार्य समितिबाट क्षेत्रीय प्रतिनिधिका रुपमा चुनिएका थिए । उनी १२ औ र १३ औ महाधिवेशनमा पनि क्षेत्रीय प्रतिनिधिका रूपमा नै चयन भए । उनले क्षेत्रीय सचिवका रूपमा २ कार्यकाल काम गरिसकेका छन् । नेपाली काँग्रेसको क्षेत्र नं। ३ प्रदेशसभा २ को संस्थापक सभापति भईसकेका प्रकाश १४ औं महाधिवेशनमा क्षेत्र नं. ३ प्रदेश क्षेत्रीय समितिबाट प्रदेश अधिवेशन प्रतिनिधिमा निर्वाचित भए ।

आफ्नै विरासतले टिकट पाएको उनको दाबी छ । अरुले के भन्छन् थाहा छैन,उनले भने,‘तर मैले पद, पैसा र शक्तिका कारण टिकट पाएको होइन ।’ सक्रियता, क्रियाशीलता, निरन्तरताका आधारमा आफूलाई मूल्याङ्कन गरेर टिकट दिएको उनको भनाई छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।