युआरएल पत्रकारिता पुरस्कार छनोट समितिको संयोजकमा पौडेल


     एभरेस्ट आवाज    
     कार्तिक २४ गते २०७९ मा प्रकाशित




पोखरा । युआरएल पत्रकारिता पुरस्कार २०७९ प्रदानका लागि प्रतिभा छनोट गर्न समिति गठन भएको छ । युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का अध्यक्ष ठाकुरप्रसाद पन्तले संस्थाको आग्रह स्वीकार गरी नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल समितिको संयोजक बनेको जानकारी दिए ।

३ सदस्यीय समितिका बाँकी २ सदस्य संयोजकले नै मनोनयन गर्ने कार्यविधि छ । समितिमा एक चिकित्सक र अर्का एक सदस्य नागरिक अधिकारकर्मीबाट रहनेछन् ।
युआरएलले स्थापना तथा सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि नगद २० हजार र ताम्रपत्र छ ।
आगामी मंसिर २३ हुने हुने युआरएलको नवौं वार्षिकोत्सव समारोहमा पुरस्कार प्रदान गरिने युआरएलका प्रबन्ध निर्देशक गणेश कोइरालाले बताए ।
यो पुरस्कार कम्तीमा ५ वर्षदेखि गण्डकी प्रदेशमा रही स्वास्थ्य बिटमा पत्रकारिता गर्नेलाई प्रदान गर्ने गरिएको छ । यसअघि यो पुरस्कारबाट ऋषि खतिवडा, यदुनाथ बञ्जारा, सुरेन्द्र पौडेल, प्रदीप पौडेल र हरि बास्तोला सम्मानित भइसकेका छन् ।

पोखराको सभागृहमा केन्द्रीय कार्यालय रहेको युआरएलले पोखरासहित गण्डकीका विभिन्न जिल्लामा ११ शाखा र ३ सेवा केन्द्रबाट सेवा दिइरहेको छ । युआरएलले सामाजिक उत्तरदायित्व वहन गर्दै अहिलेसम्म विभिन्न संघ, संस्थासँग सहकार्य गरी १२९ शिविरमार्फत सबा लाखभन्दा बढीलाई सित्तैमा सेवा दिएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।