रुकुमपूर्वमा पनि पहिलो पटक शल्यक्रियामार्फत् शिशुको जन्म


     एभरेस्ट आवाज    
     मंसिर ११ गते २०७९ मा प्रकाशित




रुकुम पुर्व । जिल्ला अस्पताल रुकुमपूर्वमा पहिलो पटक एक गर्भवतीको शल्यक्रिया गरिएको छ । अस्पताल स्थापना भएको पाँच वर्षपछि जिल्ला अस्पतालमा पहिलो पटक सुत्केरीले शल्यक्रियामार्फत शिशुको जन्म गराईएको हो ।

शनिबार अस्पतालमा भूमे गाउँपालिका–८ की सन्तु बुढाको शल्यक्रिया गरिएको डा. पूर्णबहादुर पुनले जानकारी दिए । शल्यक्रियाका डा नारायण बरालको टोलीले उक्त शल्यक्रिया गरेको हो । सुत्केरी हुने समय नाघेको र सामान्य अवस्थामा शिशु जन्माउन नसकेकाले शल्यक्रिया गर्नुपरेको डा पुनले बताए ।

विसं २०७४ पुस ७ गते रुकुमकोटस्थित स्वास्थ्य चौकीलाई जिल्ला अस्पतालमा परिणत गरिएको थियो । आवश्यक जनशक्ति र पूर्वाधारको अभावमा जिल्ला अस्पतालले दिने सेवा प्रवाह उल्लेख्य हुन नसकेपछि सांसद विकास कोष र सिस्ने गाउँपालिकाको आर्थिक सहयोगमा २०७८ असारमा शल्यक्रिया भवन निर्माण गरिएको थियो ।

सिस्ने गाउँपालिकाको ३५ लाख र तत्कालीन प्रतिनिधिसभा सदस्य कमला रोकाको संसद् विकास कोषको रु १४ लाख गरेर ४९ लाखको लगानीमा शल्यक्रिया भवन निर्माण गरिएको हो ।रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।