बंगलादेशमा विपक्षी दलको कडा विरोध


     एभरेस्ट आवाज    
     मंसिर २५ गते २०७९ मा प्रकाशित




नयाँ निर्वाचनको माग गर्दै प्रधानमन्त्री शेख हसिनाको सरकारविरुद्धको आन्दोलनमा बंगलादेशको प्रमुख प्रतिपक्षी दलका करिब १ लाख समर्थक शनिबार ढाकामा भेला भएका छन्।

विपक्षी बंगलादेश नेसनलिस्ट पार्टी (बीएनपी) का सबै सात सांसदले उक्त कार्यक्रममा संसद्बाट राजीनामा दिने घोषणा गरेका छन्। यससँगै देशको विधायिकालाई मुख्यतया रबर स्ट्याम्पको रूपमा छोड्नेछ।

पश्चिमा सरकार र संयुक्त राष्ट्रसंघले बंगलादेशको राजनीतिक वातावरणप्रति चिन्ता व्यक्त गरेका छन्।

यो एसियाको सबैभन्दा तीव्र गतिमा वृद्धि भइरहेको अर्थतन्त्रमध्ये एक हो। तर, युक्रेन युद्धले सरकारलाई ग्यास र डिजेलको आयात स्थगित गर्न बाध्य बनाएको छ। बिजुली कटौती र इन्धनको मूल्य वृद्धिले हालैका महिनाहरूमा प्रदर्शनहरू सुरु भएका छन्।

बंगलादेशी टाका २५ प्रतिशतसम्म अवमूल्यन भएको छ, जसले खाद्यान्न आयातको लागत बढाएको छ र गरीब र निम्न मध्यम वर्गका मानिसहरूलाई असर पारेको छ।

‘अटोरिक्सा’ चालक रसेल मियाँले खाद्यान्न र अन्य वस्तुको बढ्दो मूल्यवृद्धिप्रति आक्रोश व्यक्त गर्न र्‍यालीमा सामेल भएको बताए। उनले मूल्यवृद्धिका कारण आफ्नो परिवारलाई नियमित छाक टार्न संघर्ष गर्नुपरेको बताए।

‘म उत्पीडनको सिकार भएको छु,’ उनले भने, ‘म आज यहाँ मेरो वर्तमान अवस्थाका लागि जिम्मेवार व्यक्तिहरूको विरोध गर्न आएको हुँ।’

बंगलादेशका आधा दर्जनभन्दा बढी टेलिभिजन समाचार च्यानलले उक्त विरोध प्रदर्शनलाई स्थान दिएनन्। यसो हुनुमा अधिकारीहरूले उनीहरूलाई त्यसो नगर्न दबाब दिएको आशंका आन्दोलनकारीले गरेका छन्।

बीएनपीका एक अधिकारीका अनुसार मध्याह्नसम्ममा लाखौं मानिस र्‍यालीमा सहभागी भएका थिए। नाम नबताउने शर्तमा एक वरिष्ठ सुरक्षा अधिकारीले ८० हजार मानिस आन्दोलनमा सहभागी भएको आफूले अनुमान गरेको बताए।

ढाका महानगरका प्रहरी प्रवक्ता फारुक अहमदका अनुसार अहिलेसम्म कुनै हिंसात्मक गतिविधि भएको छैन तर सुरक्षाकर्मीलाई सम्भावित हिंसा रोक्न तयारी अवस्थामा राखिएको छ।

बीएनपीको मुख्यालयमा मंगलबार सुरक्षा फौजले आक्रमण गर्दा कम्तीमा १ जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएपछि राजधानीमा तनाव बढेको थियो।

हिंसा भड्काएको आरोपमा पार्टीका २ शीर्ष नेतालाई शुक्रबार पक्राउ गरिएको थियो भने र्‍यालीलाई अगाडि बढ्न नदिन नोभेम्बर ३० यता करिब २ हजार कार्यकर्ता र समर्थकलाई हिरासतमा लिइएको पार्टीले जनाएको छ।

विपक्षीहरूले देशभर विरोध प्रदर्शन गरिरहेका छन् र हसिनाले आफ्नो राजीनामा र कामचलाउ सरकारको नेतृत्वमा निर्वाचनको मागलाई ठाडै अस्वीकार गरेकी छन्।

२ करोड जनसंख्या रहेको ढाकामा शनिबार प्रहरीले चेकप्वाइन्ट खडा गरेको थियो भने सुरक्षा व्यवस्था कडा पारिएको थियो।

अर्का एक प्रहरी अधिकारीका अनुसार प्रदर्शनस्थलबाहिर सुरक्षाका लागि तीन हजारसम्म प्रहरी परिचालन गरिएको छ।

ढाकाको सामान्य भीडभाड हुने सडकहरूमा केही साइकल, रिक्सा र कारहरू मात्र चलेका थिए। बीएनपीका अधिकारीहरूले सरकारले मानिसहरूलाई प्रदर्शनमा सामेल हुनबाट रोक्नका लागि यातायात सेवामा अनौपचारिक रोकावट सुरु गरेको आरोप लगाएका छन्।

देशको प्रमुख बंगाली दैनिक पत्रिका प्रोथोम आलोका अनुसार सत्तारुढ दलका विद्यार्थी कार्यकर्ताले बीएनपीका कम्तीमा १० जना समर्थकलाई कुटपिट गरेका छन्।

रासस/एएफपी


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।