शिक्षा क्षेत्रको रणनीतिक योजनाको मस्यौदा पेश


     एभरेस्ट आवाज    
     मंसिर २७ गते २०७९ मा प्रकाशित




शिक्षा नितिलाई लागु गर्न कार्यनीति र रणनीति निर्माणका लागि गठन गरिएको रणनीतिक योजनाको मस्यौदा सोमबार पेश गरिएको छ

शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयमा भएको एक कार्यक्रममा मन्त्रालयका मन्त्री मेखलाल श्रेष्ठलाई योजना तयारी कार्यदलका संयोजक तथा पूर्व महानिर्देशक (सह–सचिव) बाबुराम पौडेलले हस्तान्तरण गरेका हुन्।

उनले कार्यक्रममा बोल्दै संयोजक पौडेलले आफूले महत्वपूर्ण शिक्षा रणनीतिक योजनाको काम गर्न पाउँदा खुसी व्यक्त गरेका थिए।

‘यो काम असाध्यै ठूलो र महत्वपूर्ण रहेको छ । हामीलाई शाखा महाशाखाबाट प्राप्त भएको सहयोगले असाध्यै सन्तुष्टी मिलेको र काम गर्दै जाँदा मन्त्रालयले उच्च सम्मान गरेको आफूलाई अनुभुति भएको छ’ उनले भने।

मन्त्री श्रेष्ठले रणनीति तयार भएको नीति कार्यदलबाट पास हुने विश्वस्त रहेको र सहयोगी सबैलाई धन्यवाद व्यक्त गरे।

शिक्षा क्षेत्रको रणनीतिक योजनाको मस्यौदा लिँदै मन्त्री मेखलाल श्रेष्ठले अति न्युनस्तरबाट केलाएर रणनीति योजना तयार गरेको हुँदा अबको शिक्षा क्षेत्रले नयाँ फड्को मार्ने विश्वस्त रहेको बताए। कार्यदलले जिम्मेवारीपूर्वक काम गरेको र भावी दिनमा पनि निरन्तर लाग्न उनको आग्रह थियो। उनले योजनाको मस्यौदालाई सम्बन्धित निकायबाट कार्यन्यवयन गराएर छाड्ने प्रतिबद्धतासमेत व्यक्त गरे।

मन्त्रालयले ०७८ फाल्गुन १८ गतेको निर्णयअनुसार शिक्षा नीति कार्यन्यवयनका लागि शिक्षा क्षेत्रको रणनीतिक योजना तयारको लागि बाबुराम पौडेलको संयोजकत्वमा ४ सदस्यीय कार्यदल गठन गरेको थियो।

उक्त कार्यदलको सदस्यमा प्रा.डा ईन्द्रप्रसाद तिवारी, भिमाद नगरपालिकाका उपसचिव पदमराज आचार्य, पूर्व उपसचिव केशरीरमण न्यौपाने र शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सदस्य सचिव तोयनाथ लम्साल थिए।

उक्त प्रतिवेदनको तयारीमा मुख्यमन्त्रीको उपस्थितिमा छलफल भई प्राप्त सुझावहरुलाई समेटी रणनीति तय गरिएको सदस्य सचिव लम्सालले जानकारी गराए।

उनले कार्यक्रममा बोल्दै शिक्षा क्षेत्रलाईको रणनीति तयार गर्न शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याएर अवकाश भएका, गण्डकी प्रदेशभित्रका सरोकारवालाहरु, शिक्षा नीतिमा काम गरी अवकास भएका सहसचिव तथा शिक्षा क्षेत्रमा काम गरेका शिक्षकलगायतको बृहत आम भेलाबाट आएका सुझावहरुलाई संकलन गरी मस्यौदा तयार गरेको बताए।

सदस्य सचिव लम्सालले उक्त प्रतिवेदनमा दिगो विकास लक्ष्य एवं राष्ट्रिय शिक्षा नीति–२०७६, चालु शिक्षा योजनासहितका कार्यक्रमहरु समावेश गरी काम गरेको हुँदा यसले भावी दिनमा महत्वपूर्ण प्रभाव पार्ने जानकारी गरए।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।