न्युजिल्याण्डकी प्रधानमन्त्रीद्वारा पदत्यागको घोषणा


     एभरेस्ट आवाज    
     माघ ५ गते २०७९ मा प्रकाशित




एजेन्सी । न्युजिल्याण्डकी प्रधानमन्त्री जसिन्डा आर्डर्नले पदबाट राजीनामा दिने घोषणा गरेकी छन् । यो वर्षको निर्वाचनअघि आफू पदबाट बाहिरिने उहाँले आज अप्रत्यासितरूपमा घोषणा गरेकी छन् ।

आगामी केही साताभित्र न्युजिल्याण्डमा आम निर्वाचनको घोषणा हुँदैछ । आफू सम्बद्ध राजनीतिक दल लेबर पार्टीको बैठकमा उनले राजीनामाको घोषणा गरेर पार्टीका सदस्यसहित देशवासीलाई आश्चर्यचकित पारेकी छन् ।

बयालीस वर्षकी आर्डर्नले देशको नेतृत्व गर्न आफूसँग पर्याप्त ऊर्जा नभएको बताइन् । “म पनि मानव हुँ, सकेसम्म समय दिएँ, अब पुग्यो । अब मरो समय हो,” पार्टी बैठकमा विश्रामको घोषणा गर्दै उनले भनिन् । फेब्रुवरी ७ सम्ममा पदबाट बाहिरिने पनि उनले बताइन् । पार्टीका सदस्यले देशलाई नेतृत्व गरेकामा आभार व्यक्त गरेका थिए ।

कोभिड–१९ को महामारी र त्यसपछिको मन्दी, क्राइस्टचर्च मस्जिदमा आतङ्वादी आक्रमण र ह्वाइट आइल्याण्ड ज्वालामुखी विष्फोटको कठिन समयमा उनले देशको नेतृत्व गरिन् ।

सन् २०१७ मा ३७ वर्षको उमेरमा प्रधानमन्त्री चुनिएपछि उनी विश्वकै कान्छी महिला सरकार प्रमुख भएकी थिइन् । उनले अब आफ्ना प्रेमी टेलिभिजन प्रस्तोता क्लार्क गेफोर्डसँग लगनगाँठो कस्ने बताएकी छन् । पाकिस्तानकी प्रधानमन्त्री बेनजिर भुट्टोपछि उनी उच्च पदमा रहेकै बेला आमा बन्ने विश्वको दोस्रो नेत्री भइन् । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।