भवन भत्कँदा १६ जनाको मृत्यु


     एभरेस्ट आवाज    
     माघ ९ गते २०७९ मा प्रकाशित




सिरियाको दक्षिणी प्रान्तमा अलेपोमा रहेको एक आवासीय भवन भत्कँदा त्यसमा रहेका कम्तीमा पनि १६ जनाको ज्यान गएको बताइएको छ ।
यहाँको एउटा साततले भवन भत्कँदा ती मानिसको मृत्यु भएको बताइएको हो । त्यस दुर्घटनामा पाँच जना बालबालिका पनि परेका छन् ।प्रहरीका अनुसार उक्त भवनमा सात परिवार बसेका र ती परिवारका गरेर १६ जनाको ज्यान गएको हो ।

सो स्थानका स्थानीय बासिन्दाले उक्त भवनमा ३५ जनाको बसोबास रहेको बताएका छन् । भवनका भग्नावशेषबाट एक जनालाई मात्र जीवित उद्धार गरिएको छ ।प्रहरीले मृतकको सङ्ख्या अझै बढ्नसक्ने बताएको छ । यहाँको सरकारी समाचार समिति सानाले सो भवनको भग्नावशेषमा पुरिएको आशङ्कामा उद्धारको काम जारी रहेको जनाएको छ ।

एक दशकभन्दा लामो समयदेखि जारी युद्धका कारण उत्तरी जिल्ला अफ्रिनबाट विस्थापित भएका सिरियाली नागरिक उक्त भवनमा बस्दै आएका सिरियाली गृह मन्त्रालयका अधिकारीले जनाएका छन् । सिरियामा जारी द्वन्द्वमा परी करिब पाँच लाख नागरिकको ज्यान गइसकेको छ । अधिकांश विस्थापित सिरियाली यस्तै कमजोर प्रकृतिका भवनमा बस्दै आएका छन् ।

गएको सेप्टेम्बरमा पनि अलेप्पोनजिकको फर्दवासमा एक यस्तै कमजोर भवन भत्कँदा तीन जना बालबालिकासहित दश जनाको मृत्यु भएको जानकारी गृह मन्त्रालयका अधिकारीले जनाएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।