आँधीका कारण छब्बीस जनाको मृत्यु, जनजीवन अस्तव्यस्त


     एभरेस्ट आवाज    
     चैत्र १९ गते २०७९ मा प्रकाशित




संयुक्त राज्य अमेरिकाका मध्यपश्चिम तथा दक्षिणी राज्यमा शृङ्खलाबद्ध रूपमा आएको आँधीमा परी २६ जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

टेनेसीमा कम्तीमा नौ जनाले ज्यान गुमाएका छन् भने अर्कान्सासको सानो शहर वायनमा चार, इण्डियानाको सुलिभानमा तीन र इलिनोइमा चार जनाको मृत्यु भएको छ । अलाबामा र मिसिसिपीका केही स्थानीयको मृत्यु भएको छ ।

शुक्रबार र शनिबार आएको शक्तिशाली आँधीले ती राज्यका घरका छाना उडेका छन् । विद्यालय र गिर्जाघर ढलेका छन् । सर्वसाधारणका घरका पर्खाल भत्किएका छन् । रुखविरुवा जरैदेखि ढलेका छन्भने मोटरकारहरू उत्तानो परेका छन् । विद्युत् आपूर्तिमा अवरोध भएको छ भने आँधीले निम्त्याएको अकल्पनीय क्षतिले जनजीवन अस्तव्यस्त भएको छ ।

अर्कान्सास, अलबामा, मिसिसिपी, इलिनोई, इण्डियाना, टेनेसीलगायत आठ राज्य आँधीको चपेटामा परेका छन् । इलिनोइमा दर्शकहरूले खचाखच भएको एउटा साङ्गीतिक कार्यक्रमस्थलको छत भत्किँदा एक जनाको मृत्यु भएको छ भने २८ जना घाइते भएका छन् । अधिकारीहरूका अनुसार इलिनोइको क्रफोर्ड काउन्टीमा थप तीन जनाको मृत्यु भएको छ । त्यहाँ एक सय परिवार विस्थापित भएका छन् । आँधी प्रभावित राज्यका पाँच लाख ९० हजारभन्दा बढी मानिस विद्युत्विहीन भएका छन् ।

ओक्लाहोमामा एक सयभन्दा बढी मानिस आँधीबाट प्रभावित भएका, कम्तीमा ३२ जना घाइते भएका तथा ४० भन्दा बढी घर ध्वस्त भएका अधिकारीहरूले बताएका छन् । शनिबार दिउँसोसम्म उक्त राज्यका दुई लाख घर र व्यवसाय बिजुलीविहीन भएका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।