पाकिस्तानको पञ्जाबमा पूर्व प्रधानमन्त्री खान पक्षधरको प्रदर्शन, करिब एक हजार पक्राउ


     एभरेस्ट आवाज    
     वैशाख २७ गते २०८० मा प्रकाशित




पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीपछि सुरु भएको प्रदर्शनका कारण पाकिस्तानको सबैभन्दा बढी जनसङ्ख्या भएको प्रान्त पञ्जाबमा करिब एक हजार व्यक्तिलाई पक्राउ गरिएको प्रहरीले बुधबार जनाएको छ ।

“प्रहरी टोलीले प्रान्तभरिबाट ९४५ ‘कानून उल्लङ्घन कर्ता र उपद्रवी’हरूलाई पक्राउ गरेको छ,” अधिकारीहरूले सञ्चारमाध्यमलाई दिएको जानकारीमा उल्लेख गरिएको छ ।

प्राप्त जानकारी अनुसार खानलाई गरेपछि भएको हिंसामा १३० भन्दा बढी प्रहरी घाइते भएका छन् । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानलाई गत वर्ष सत्ताच्युत भएयता विचाराधीन दर्जनौं मुद्दामध्ये एक मुद्दामा मङ्गलबार अदालतमा उपस्थित हुने क्रममा पक्राउ गरिएको थियो ।

महिनौँ लामो राजनीतिक सङ्कटपछि उनको गिरफ्तारी भएको हो । पाकिस्तानमा शक्तिशाली भूमिका रहेको सेनाले पूर्व अन्तर्राष्ट्रिय क्रिकेटरलाई उहाँको हत्याको षडयन्त्रमा एक वरिष्ठ अधिकारीको संलग्नता रहेको आरोप लगाएको केही घण्टापछि उनलाई पक्राउ गरिएको हो ।

खानको पाकिस्तान तेहरीक–ए–इन्साफ (पीटीआई) पार्टीका अधिकारीहरूले उनलाई पक्राउ गरेपछि समर्थकहरूलाई सडकमा आउन आग्रह गरेका थिए तर प्रहरीले चार जनाभन्दा बढी भेला हुन नपाइने आदेशलाई कडाइका साथ लागू गरिने चेतावनी दिएको छ ।

आन्दोलनका लागि पार्टीले गरेको आग्रहसँगै पीटीआई समर्थकहरूले राजधानी इस्लामाबाद, लाहोर र पेशावरसहित देशभरका शहरहरूमा भेला भएर सडक अवरुद्ध गरेका थिए । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।