, ,

गण्डकी प्रदेशसभा : प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको मुख्यमन्त्री पाण्डेको स्पष्टोक्ति


     एभरेस्ट आवाज    
     असार २० गते २०८० मा प्रकाशित




फाइल तस्विर

असार २० पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रदेश सरकारले ल्याएको बजेट गोरखा केन्द्रित नभएको स्पष्ट पारेका छन् ।

प्रदेशसभामा आगामी आव २०८०/८१ को बजेटको मन्त्रालयगत छलफलका क्रममा सदस्यहरूले उठाएका प्रश्नहरूको आज जवाफ दिँदै उहाँले पहुँचका आधारमा नभई आवश्यकताका आधारमा बजेट विनियोजन गरिएको बताए ।

“मैले बजेटमा गोखरालाई पहिलो प्राथमिकतामा नराखिदिनुहोला भनेको थिएँ, आफ्नो सरकारले ल्याउने पहिलो बजेटमै यसको झल्को आउनुहुँदैन भन्नेमा म सचेत थिएँ”, मुख्यमन्त्री पाण्डेले भने, “सङ्घ सरकारको बजेटमा पनि गोरखाको बढी चर्चा भएको सन्दर्भमा प्रदेशका माननीयज्यूहरूले अलिअलि विषय उठानुभयो, तर अवस्था त्यस्तो छैन, बजेट र योजना बाँडफाँट हेर्दा त्यो प्रष्ट हुन्छ ।”

बाहिर ‘गोखरा बजेट’ भनेर टिप्पणी भइरहँदा बजेटलाई लिएर आफ्नो गृहजिल्लाका नागरिकले गरेको गुनासो आफूलाई मात्र थाहा भएको उनले उल्लेख गरे । “उल्टो मुख्यमन्त्री हुँदा पनि जिल्लालाई केही गर्न नसकेको आरोप ममाथि छ, सामाजिक सञ्जाललगायतबाट टिप्पणी भइरहेको छ”, मुख्यमन्त्री पाण्डेले भने ।

उनले समग्र प्रदेशको समृद्धि, विकास, सुशासन र नागरिकको हकहितलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताए । “आत्मनिर्भर तथा समुन्नत प्रदेश, सम्मानित प्रदेशवासीको उद्देश्यमा बजेट केन्द्रित छ”, उनले भने, “स्रोतको सीमितताका कारण बजेटको आकार पनि घट्यो, त्यसैले गर्दा सबै आवश्यकताको सम्बोधन गर्ने गरी बजेट विनियोजन गर्न सकिएन ।”

मुख्यमन्त्री पाण्डेले बजेट निर्माणको परम्परागत शैलीलाई बदल्नुपर्ने धारणा राखे । उनले आगामी वर्षदेखि प्रदेश सरकारले आयोजना बैंक स्थापना गर्ने र सोही आधारमा आयोजनाको छनोट र कार्यान्वयन गरिने बताए । उनले विनीयोजन विधेयकका सम्बन्धमा प्रदेशसभा सदस्यले उठाएका प्रश्नको सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गरे ।

मुख्यमन्त्री पाण्डेले नेपालजस्तो देशमा जनप्रतिनिधिले नीतिनिर्माणको मात्र नभई विकास अभियानको पनि नेतृत्व गर्नुपर्ने बताए । उनले राजनीतिक दललगायत सबै पक्ष मिलेर मात्र सङ्घीयतालगायतका उपलब्धिको रक्षा गर्न सकिने धारणा राखे ।

मुख्यमन्त्री पाण्डेले स्वास्थ्य, शिक्षा, कृषि, सूचना प्रविधिलगायतका क्षेत्रमा प्रदेश सरकारले नवप्रवर्तनलाई जोड दिएको उल्लेख गरे । वर्षौंदेखि रुग्ण रहेका र प्रदेश गौरवका आयोजनालाई गति दिइने बताए ।

बैठकमा आर्थिक मामिलामन्त्री जीतप्रकाश आले मगर, सामाजिक विकास तथा स्वाथ्यमन्त्री सुशीला सिम्खडा, कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसी र ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले बजेटको मन्त्रालयगत छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिएका थिए । आजको प्रदेशसभा बैठकको शून्य समयमा प्रदेशसभा सदस्य श्यामराजा महतले मात्र बोलेका थिए ।
प्रदेशसभाको अर्को बैठक बिहीबार बिहान ११ बजे बस्ने प्रदेशसभा सचिवालयले जनाएको छ । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।