पर्वतका दुई छुट्टाछुट्टै स्थानमा गएराति परेको चट्याङमा पाँच जना घाइते हुनाका साथै एक घरमा क्षति पुगेको छ । जिल्लाको फलेवास नगरपालिका–३ शङ्कर पोखरीस्थित टारीका दयाराम पङ्गालीको घरम चट्याङ पर्दा तीन जना घाइते भएका थिए । गए राति करिब १२ बजेको समयमा भीषण वर्षासँगैको चट्याङ परेर ३० वर्षीया शर्मिला रिजाल, २५ वर्षीय होमनाथ रिजाल र २७ वर्षीय नवीनप्रसाद रिजाल घाइते भएका थिए । उनीहरुको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरी निरीक्षक प्रकाश रावतले जानकारी दिए ।
घाइतेहरूको अवस्था सामान्य रहेको छ । चट्याङले पङ्गालीको दुई तले घरको दुईवटा कोठामा पूर्ण क्षति पु¥याएको छ भने टिभी, मिटरबक्सलगायत विद्युतीय सामग्रीसमेत नष्ट भएका छन् ।
त्यसैगरी महाशिला गाउँपालिका–६ फलामखानीमा पनि चट्याङमा परी दुई जना घाइते भएका छन् । बिहीबार राति करिब १२ बजेको समयमा परेको चट्याङले स्थानीय ५० वर्षीया उमादेवी सुनार र उनकी छोरी ३० वर्षीया रेखा सुनार घाइते भएको वडाध्यक्ष गोविन्द विकले जानकारी दिए । उनीहरुको खुट्टा र कानमा चोट लागेको र स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको उनको भनाइ थियो ।
चट्याङ लागेर फलामखानीको पात्ला र ढडेनका सात घरमा विद्युत्को मिटर बक्स जल्नाका साथै एक बाख्रोसमेत मरेको छ । क्षतिको विवरण सङ्कलन गर्ने काम भइरहेको वडाध्यक्ष विकले बताए। रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


मिजोरम गोर्खा नारी समाजले बिभिन्न कार्यक्रम गरी प्लाटिनम बर्ष समारोह सम्पन्न गरेको…






