कास्कीमा डेङ्गु नियन्त्रणका लागि ‘१० मिनेट अभियान’


     एभरेस्ट आवाज    
     श्रावण १५ गते २०८० मा प्रकाशित




पोखरा । डेङ्गुको संक्रमण बढ्न थालेपछि त्यसको नियन्त्रणका लागि कास्कीमा ‘१० मिनेट अभियान’ शुरु भएको छ ।

स्वास्थ्य कार्यालय कास्कीले डेङ्गु संक्रमण नियन्त्रणका लागि भन्दै गत शुक्रबार देखि ‘१० मिनेट अभियान’ शुरु गरेको हो । एडीज जातको लामखुट्टेको टोकाईबाट लाग्ने डेङ्गु संक्रमणबाट बच्नको लागि प्रत्येक शुक्रबार बिहान साढे १० बजेदेखि ‘१० मिनेट अभियान’ सञ्चालन गरिएको स्वास्थ्य कार्यालय कास्कीका कार्यालय प्रमुख बद्री आचार्यले जानकारी दिए ।

कार्यालयको सेवा प्रभाहमा प्रभाव नपर्नेगरि कार्यालय वरपर सरसफाई गरि लामखुट्टेको टोकाइबाट बच्न र यस्को वृद्धिविकास हुन नदिनका लागि अभियान शुरु गरिएको उनले बताए । उनले भने ‘विषेशगरि एडिज जातको लामखुट्टेको टोकाइबाट बच्न र यसको वृद्धिविकास रोक्न प्रत्येक साताको शुक्रबार बिहान कार्यालय वरपर सरफाई गर्नेगरि ‘१० मिनेट अभियान’ शुरु गरेका हौं । यो अभियान स्थानियतह, विद्यालय, विभिन्न कार्यालय हुँदै टोल–टोलमा पुगोस् भन्ने हाम्रो उद्देश्य हो ।’

यो जातको लामखुट्टेले स्थीर जमेको सफा पानीमा फुल पारि वृद्धिविकास हुने हुँदा आफ्नो वरीपरिका पानी जम्ने खाल्डाखुल्डी, फुल सार्ने गमला र पुराना भनि फालिएका विभिन्न सामानहरुमा पानी जम्न नदिने गरि सरसफाईमा ध्यान दिन उनले सबैलाई आग्रह गरे ।

साथै दिउँसोको समयमा बढी यस्ता लामखुट्टेले टोक्ने हुँदा लामो बाहुला भएका कपडाहरु लगाउनपर्ने उनको सुझाव छ ।
पछिल्लो समय कास्कीमा २०८ जनामा डेङ्गु संक्रमण पुष्टि भएको छ ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।