पोखरा, भदौ १
पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालले छाती छिरेर मुटुको शल्यकृया अर्थात ओपन हर्ट सर्जरी गरेको छ । अस्पतालले गण्डकी प्रदेशमै पहिलो पटक पोखरा–२० भलामका ४५ वर्षिय विष्णु गौतमको छाती चिरेर सफलतापूर्वक शल्याकृया गरेको हो । मुटुको दुईवटा नशा बिग्रिएर काम नलाग्ने अवस्थामा पुगेका गौतमको करीब ४ घण्टा लगाएर मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराई नेतृत्वको टोलीले ओपन हर्ट सर्जरी सफलतापूर्वक गरेको चरक अस्पताल नागढुंगा पोखराले शुक्रबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ । गौतमको मुटुमा हात र छातीको नशा लगेर जडान गरिएको शल्याकृयाको नेतृत्व गरेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा.भट्टराईले जानकारी दिए । उनका अनुसार गौतमको स्वास्थ्य अवस्था अहिले सामान्य छ । उनी अहिले आफै हिंडडुल गर्न र खानपीन गर्न सक्षम छन् ।

चरक अस्पतालले एक हप्ता अगाडिदेखि छाती चिरेर मुटुको शल्याकृया शुरु गरेको थियो । ३ करोडको लागतमा चरकमा हर्ट लङ मेसिन अर्थात मुटु र फोक्सो चलाउने कृतिम मेसिन जडान गरिएको छ । सोहि मेसिनको प्रयोग गरेर छाती चिरेर मुटुको शल्यकृया गर्न थालिएको चरक मेमोरियलका प्रबन्ध निर्देशक कपिल पोखरेलले जानकारी दिए ।

बरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल भट्टराईले गौतमको मुटुको शल्यकृया जटिल शल्यकृया अन्तर्गत पर्ने बताए । यो अप्रेसन जटिल अप्रेसन अन्तर्गतको हो,उनले भने,‘यसको शुरुवात गर्नु ठूलो कुरा होईन तर अप्ठ्यारो कुराचाहिं हो । अब यसलाई निरन्तरता दिने र गुणस्तरीय बनाउनु ठूलो कुरा हो ।’ उनले विज्ञानले ल्याएको सुविधा देशका मुख्य सहरहरुमा बिस्तार गर्ने उद्देश्यले पोखरामा ल्याइएको बताउँदै यसले ओपन हर्ट सर्जरी अध्ययन गरेका युवाहरुलाई स्वदेशमै बसेर काम गर्न प्रेरित गर्ने बताए । ‘हामीले ओपन हर्ट सर्जरीको प्लेटफर्मलाई जग हालेको मात्र हो’–उनले भने ।
चरक मेमोरियल अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले चरक अस्पतालमा अबदेखि नियमित रुपमा ओपन हर्ट सर्जरी हुने बताए । ओपन हर्ट सर्जर आकस्मिक रुपमा गरिने कुरा होईन,उनले भने,‘यो योजना बनाएर गर्ने कुरा हो । प्रविधि र जनशक्ति दुबै मिलाएर हामी नियमित रुपमा गर्दै जान्छौं ।’ उनले चरक अस्पतालमा मुटुको उपचारका लागि सरकारले दिने एक लाख रुपैयाँको सुविधापनि रहेको उल्लेख गरे ।

छाती चिरेर गरिने ओपन हर्ट सर्जरीका लागि प्रति व्यक्ति ५÷६ लाख रुपैयाँ लागत लाग्छ । तर चरकले पहिलो अप्रेसन निःशुल्क गरेको छ । यो अप्रेसन गर्दा भारतमा १५ लाख भन्दा बढी लाग्ने बताईन्छ ।
ओपन हर्ट सर्जरी गर्ने चिकित्सक नेपालमा करीब २५ जना मात्र छन् । पोखरामा भने एक जना मात्र ओपन हर्ट सर्जन रहेको मनमोहन अस्पतालका विभागीय प्रमुखसमेत रहेका बरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईले बताए । उनका अनुसार ओपन हर्ट सर्जरी काठमाडौंको शहीद गंगालाल हृदय रोग केन्द्र बाँसबारी, मनमोहन कार्डियो भाष्कुरल अस्पताल, चितवन, विराटनगर र धरानमा मात्र हँुदै आएको छ ।

सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







