कवि रत्न रुद्र हितान मगर पुरस्कृत


     एभरेस्ट आवाज    
     पौष २ गते २०८० मा प्रकाशित




पुस २ पोखरा । कवि केवी नाम्जाली भुरुङ मगरको ५७ औं जन्मजयन्तीको अवसरमा कवि रत्न रुद्र हितान मगर पुरस्कृत भएका छन् ।

सोमबार पोखरामा मगर भाषा प्रतिष्ठान कास्कीले एक कार्यक्रमका विच कवि भुरुङ मगरको ५७ औं जन्मजयन्ती तथा पुरस्कार अर्पण समारोह २०८० मार्फत हितान मगरलाई पुरस्कृत गरेको हो ।

पोखराका अग्रज पत्रकार समेत रहेका कविरत्न मगरलाई गण्डकी प्रज्ञा—प्रतिष्ठानका कुलपति सुर्य बहादुर खड्का ‘बिखर्ची’, कवि नाम्जालीकी धर्म पत्नी शशि मगरले नगदसहित, प्रमाण पत्र, भांग्रा, फेदा र मालासहित पुरस्कृत गरे । सो अवसरमा बोल्दै कुलपति खड्काले कवि भुरुङ मगरलाई जिवित राख्नका लागि सृजना मात्र नभएर थप यस्ता कार्यक्रमहरुले ठूलो टेवा मिल्ने विश्वास व्यक्त गरे । उनले पुरस्कारले सम्मानित व्यक्तिहरुलाई लेखनका लागि आत्मबल र उर्जा मिल्ने बताउँदै प्रतिष्ठानका तर्फबाट सकेको सहयोग रहने प्रतिवद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल मगर संघ केन्द्रीय कोषाध्यक्ष पूर्ण बहादुर रानामगर, नेपाल मगर संघ गण्डकी प्रदेशका अध्यक्ष तारामाया थापा मगर, नेपाल मगर संघ कास्कीका अध्यक्ष, पुरस्कार छनोट समितिका सदस्य राम बहादुर थापा मगरले भाषा विकासका लागि मगर सामुदायका, खाम, ढुट र काइके तिनै भाषाको संरक्षण गर्न सके, मात्र कवि नाम्जालीको सपना पूरा हुने विश्वास व्यक्त गरे ।

कार्यक्रममा बोल्दै पुरस्कृत हितान मगरले मगर भाषमा अझ कलम चलाउन र भाषा संरक्षणका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानको सहयोगको अवश्यक रहेको बताए । उनले भाषा संरक्षण गर्न नसके मगर भाषाको लोप हुनेमा चिन्ता व्यक्त गर्दै सवैले भाषा सिक्नुपर्नेमा जोड दिए ।

मगर भाषा प्रतिष्ठान कास्की शाखाका अध्यक्ष याम बहादुर थापा मगरको अध्यक्षतामा भएको कार्यक्रममा श्रष्टा परिचय प्रतिष्ठान कास्कीका सदस्य इन्दिरा थापा मगर, कवि नाम्जालीका बारेमा अक्षकोष सदस्य नरेश थापा मगरले प्रकाश पारेका थिए ।

प्रत्येक दुई वर्षमा प्रदान गरिँदै आएको पुरस्कारबाट यसअघि उजीर मगर, रिमवावु राना मगर, धिरेन्द्र थापा मगर, फुल कुमारी थापा मगर र रुद्र शन्देश मगर पुरस्कृत भइसकेका छन् ।

भाषा, साहित्य र संस्कृतिको संरक्षण गर्ने उद्देश्यले प्रतिष्ठाको स्थापना गरिएको मगर भाषा प्रतिष्ठान कास्की शाखाका सचिव मिना थापा मगरले जानकारी दिइन् ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।