पोखराको चरक अस्पतालमा दुरविनबाट पाठेघरको जटिल शल्यक्रिया सफल


     एभरेस्ट आवाज    
     पौष १८ गते २०८० मा प्रकाशित




पोखरा । पोखराको नागढुंगास्थित चरक मेमोरियल अस्पतालमा दुरविन प्रविधिबाट गरिएको महिलाको पाठेघरसम्बन्धी जटिल शल्यक्रिया सफल भएको छ । विगत दुई वर्षदेखि पाठेघरसम्बन्धी जटिल समस्याबाट ग्रसित एक ३३ वर्षिया महिलाको चरक मेमोरियल अस्पतालमा दुरविनबाट सफलतापूर्वक पाठेघर सम्बन्धी शल्यक्रिया गरिएको हो ।

पाठेघरको समस्याले ग्रसित उनलाई भिडियो एक्स–रे गर्दा उनमा पाठेघरको छेउमा ठूलो रगतको फोका छ भनिएको थियो । त्यसपछि बिरामीलाई एम.आर.आई. गराउँदा पाठेघर र अण्डाशयको भागमा ठूलो आकारको रगत जमेको (१०*१०) पुष्टि भएको थियो ।

जसलाई मेडिकल भाषामा इन्डोमेट्रियोशिस भनिन्छ । यो आकारको रगत अण्डाशयको दुवै भागमा पुष्टि भएको थियो । सामान्यतया इन्डोमेट्रियोशिस दुवै अण्डाशयमा यति ठूलो आकारमा हुदैँन । यसले बिरामीलाई पेट दुखाउने, महिनावारीको समयमा धेरै पेट दुख्ने समस्या हुन्छ । यसका साथै यस समस्याले महिलामा निसन्तानको समस्या देखाउन थाल्छ । शल्यक्रियामा संलग्न डाक्टर मदन खड्काले बताए ।

शल्यक्रिया आफैमा जटिल हुन्छ । यस समस्याले पाठेघरको दायाँ बायाँको अङ्ग, सबै एकअर्कामा टासिन थाल्छ । पाठेघर आन्ध्रासगँ टासिन पुग्छ । शल्यक्रियाको क्रममा चिकित्सकले आन्ध्रा, बोसो तथा पिसाबको थैलीलाई बिस्तारै पाठेघरबाट छुटाउदै लैजानुपर्छ र रगतको फोकालाई बिस्तारै निकाल्दै जाने हो ।

चरक अस्पतालमा सफलतापूर्वक दुरविनबाट पाठेघर सम्बन्धी जटिल शल्यकृया भएपछि अबदेखि सो उपचारका लागि काठमाडौं जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ । मेडिकल भाषामा इण्डोमेट्रियोशिस भनिने यसप्रकारको समस्याको अब पोखरामा नै उपचार सम्भव भएको बिरामीको शल्यक्रिया पश्चात डा. डा मदन खड्काले प्रतिक्रिया दिए । उनले भने, ‘यस प्रकृतिका जटिल शल्यक्रिया पोखरामा दुर्बिन प्रविधिबाट पोखरामै दिन सक्षम र तयार छौँ ।’ उपचार पश्चात बिरामी तथा बिरामीको आफन्त उपचार सेवाबाट निकै खुशी भएका छन् । बिरामीका एक आफन्तले भने, ‘हामीलाई यस्तो विश्व स्तरिय सुविधा पोखरामै हुन्छ भन्ने जानकारी थिएन । आफन्तबाट थाहा पाएर सेवाको लागी यस अस्पतालमा आएका थियौँ । हामी धेरै खुशी छौँ ।’

दुर्बिन प्रविधिले शल्यक्रिया गर्दा पेट काट्न नपर्ने, घाउ चाडैँ निको हुने, अपरेशन पश्चात अस्पतालमा धेरै बस्न नपर्ने, चाडो डिस्चार्ज हुने, पेटमा दाग नहुने र बिरामी आफ्नो काममा चाडैँ फर्कन सक्ने डा.मदन खड्काले बताए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।