पोखरा मोबाइल व्यवसायीको शिविरमा २ सय जना लाभान्वित


     एभरेस्ट आवाज    
     माघ १६ गते २०८० मा प्रकाशित




माघ १६ पोखरा । पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३ औँ स्थापना दिवसमा भएको शिविरमा एक सय दुई जनाको निःशूल्क जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको थियो ।

सोही अवसरमा भएको रक्तदानमा ४१ यूनिट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो ।

गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब युआरएलले स्थापना कालदेखि नै विभिन्न संघ, संस्थासँग सहकार्य गरी निशुल्क शिविर गर्दै आएको छ । स्थापनको १० वर्षमा एक लाख ६० हजारले शिविरबाट सित्तैमा सेवा लिइसकेको युआरएल अध्यक्ष ठाकुरप्रसाद पन्त बताउँछन् ।

‘हामीले सामाजिक उत्तरदायित्व वहन गर्दै निशुल्क शिविर आयोजना गर्दै आएका छौँ । प्रदेशलाई नै रगत जाँचमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ अघि बढेका छौँ,’ उनले भने । युआरएलले अहिले गण्डकी प्रदेशका २० स्थानबाट सेवा दिइरहेको छ ।

पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघका अध्यक्ष नारायण सुवेदीले मोवाइल र अन्य इलेक्ट्रोनिक्स व्यवसायका फरक खालका समस्या रहेको जनाउँदै ती समस्या समाधानका लागि व्यावसायिक एकता अपरिहार्य भएकोमा जोड दिए ।

कार्यक्रममा संघका प्रदेश अध्यक्ष उदयबहादुर केसी (लाहुरे दाइ), सचिव चिन्तामणि खरेल लगायतले बोलेका थिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।