तनहुँ । ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमणबाट तनहुँ जिल्लामा एक महिना नबित्दै ३० वटा बङ्गुर मरेका छन् । यसै महिनाको १ गतेदेखि हालसम्म उक्त परिमाणका बङ्गुर मरेकामा व्यास नगरपालिकामा सबैभन्दा बढी छन् ।
उक्त नगरपालिकामा उन्नाइस, म्याग्देमा आठ, भीमादमा दुई र ऋषिङ गाउँपालिकामा एक वटा बङ्गुर मरेका हुन् । उक्त सङ्क्रमणका कारण बङगुर मर्न थालेपछि यहाँका व्यावसायिक किसान चिन्तित भएका छन् । जिल्लाका दस पालिकामध्ये चार पालिकमा ‘अफ्रिकन स्वाइन फिभर’को सङ्क्रमण फैलिएको भेटेरिनरी तथा पशुविज्ञ केन्द्रका पशु प्राविधिक रुद्रसिं ठकुरीले जानकारी दिए ।
महामारीको रूपमा रहेको यस रोगको उपचार नहुने भएकाले उच्च जैविक सुरक्षा अपनाउन किसानलाई आग्रह गरिएको उनको भनाइ थियोे । बाह्य मानिसलाई फार्ममा जान नदिन र बङ्गुर तथा सुङ्गुर ओसारपसार कार्य नगर्न सुझाब दिइएको छ”, प्राविधिक ठकुरीले भने, सुँगुर तथा बङ्गुरबाट सुङ्गुर तथा बङ्गुरमै यो रोग सजिलै सर्छ तर मानिसमा सर्दैन ।”
संस्था दर्ता गरी व्यावसायिकरूपले काम गर्दै आएका किसानलाई महामारीले सताएपछि पडित किसानलाई पुनःस्थापना कार्यक्रमअन्र्तगत प्रतिबङ्गुर रु चार हजारका दरले सहयोग गरिने सो कार्यालयले जनाएको छ । केन्द्रका पशु चिकित्सक र प्राविधिक टोलीले अहिले जिल्लाका बङ्गुर फार्ममा पुगेर अनुसन्धान थालेको छ ।
पीडित किसानका फार्ममा पुगेर सतर्कता अपनाउन आग्रह गरिएको कार्यालय प्रमुख डा राजेशकुमार चौधरीले बताए । सञ्चारमाध्यमबाट सन्देशमूलक सूचना प्रवाहसमेत गरिँदै आएको उनको भनाइ थियो । उक्त रोगविरुद्ध हालसम्म कुनै भ्याक्सिन नबनेकाले सङ्क्रमण नफैलिएका अन्य पालिकामा पनि किसानलाई सतर्कता अपनाउन लगाइएको छ ।
उक्त रोगका कारण बङ्गुरमा उच्च ज्वरो आउने, खान मन नगर्ने, झोक्राउने, पेट र कानमा रगतका धब्बा देखापर्नेजस्ता लक्षण देखापर्छन् । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


प्रिमियम मोटरसाइकल ब्रान्ड सीएफमोटोले पोखराको बिक्री, सर्भिस र स्पेयर पार्ट्ससहितको ३एस आउटलेट…







