छोराको जन्मदिनमा न्यौपाने दम्पतीको स्वास्थ्य शिविर, दई सय बढी लाभान्वित


     एभरेस्ट आवाज    
     फागुन १६ गते २०८० मा प्रकाशित




पोखरा । पछिल्लो समय नेपालीहरुमा पनि जन्म दिन उत्सवका रुपमा मनाउने परम्परा बढेको छ । जन्म दिनमा साथीहरुबीच भेटघाट गर्ने र ठूला होटलहरुमा पार्टी गरेर मनाउने गरिन्छ । बाबु आमाले पनि आफ्ना छोराछोरीको जन्म दिन भव्य गरी विशेष रुपमा मनाउने गर्दछन् । तर पोखराका एक दम्पतीले भने छोराको जन्म दिनमा सामाजिक काम गरेका छन् । पोखरा–१३ निवासी मेडिकल व्यवसायी समेत रहेका मणि न्यौपाने र संगीता बरालले आज छोरा बरदानमणिको पहिलो जन्म दिनमा स्वास्थ्य शिविर आयोजना गरेर मनाएका हुन् ।

उनीहरुले पोखरा १०, १२ र १३ का गरिव तथा विपन्नहरुका लागि निःशुल्क सुगर र थाइराइड परीक्षणको व्यवस्था गरे । सो शिविरबाट दुई सय बढीले सेवा लिएका छन् । धेरै खर्चिलो गरि उत्सव मनाउनुभन्दा फरक र सबैलाई हित हुने काम गर्ने सोच अनुसार स्वास्थ्य शिविर आयोजना गरेको मणि न्यौपानेले बताए ।

उनले भने,“पहिलो सन्तानको रुपमा छोराको जन्म भएर पहिलो जन्म दिन मनाउदाँ हामी असाध्यै खुशी भयौँ । त्यो खुशीमा भोजभतेर गर्नुभन्दा प्रेमपूर्वक सबैलाइ सहयोग र सहकार्य गरौँ तथा सेवानै ठूलो कुरा हो भनेर स्वास्थ्य शिविर गरेका हौँ ।” न्यौपानेले यसअघि पनि विभिन्न सामाजिक काम गर्दै आएका छन् ।

पोखरा महानगरपालिका वडा नं १३ का वडाध्यक्ष किरण बरालले न्यौपाने दम्पतीको कार्यप्रति खुशी व्यक्त गरे । उनले यस्ता सामाजिक कार्यको अन्यले पनि अनुसरण गर्नुपर्नेमा जोड दिए ।


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।