गोरखा जिल्लाको गण्डकी गाउँपालिकाले पालिकाभित्रका एक सय पाँच जना दीर्घरोगी तथा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गरेको छ ।
गाउँपालिकाले चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत उनीहरूको बीमा गरेको गाउँपालिका अध्यक्ष दीपक तिमल्सिनाले बताए ।
“दीर्घरोगी तथा गर्भवतीको नियमित उपचार र स्वास्थ्य जाँचका लागि स्वास्थ्य संस्थामा गइरहनुपर्ने भएकाले आर्थिक अवस्था कमजोर भएकालाई खर्च अभावका कारण समस्या पनि हुनसक्ने अवस्था आउँछ”, उनले भने, “त्यस्ता लक्षित व्यक्तिलाई सहयोग पुगोस् भन्ने उद्देश्यले पाालिकाले निःशुल्क स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गरेको हो ।”
गाउँपालिकाको निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा ३० जना दीर्घरोगी रहेका छन् भने ७५ जना गर्भवती छन् । उनीहरु सबैले आउँदो २०८१ जेठ १ गतेदेखि बीमाबापतको स्वास्थ्य उपचार सेवा लिन पाउने अध्यक्ष तिमल्सिनाले बताए ।
गाउँपालिकाले सञ्चालन गरेको स्वास्थ्य बीमाबापत लाभग्राहीले वार्षिक रु एक लाखसम्मको उपचार सेवा निःशुल्क प्राप्त गर्नेछन् । “यो कार्यक्रमले लक्षित परिवारमा अबदेखि सहज स्वास्थ्य सेवाको पहुँच पुग्नेछ”, अध्यक्ष तिमल्सिनाले भने, “गाउँपालिकाले पालिकाभित्रका सबै गर्भवती र दीर्घरोगीको तथ्याङ्क सङ्कलन गरेर कार्यक्रम सञ्चालन गरेको हो ।” गाउँपालिकाले बीमा गर्दा गर्भवती तथा दीर्घरोगीका परिवारका पाँच जना सदस्यको पनि निःशुल्क स्वास्थ्य बीमा गरिएको गाउँपालिकाले जनाएको छ । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ५४ यूनिट रगत संकलन…







