पोखरा, चैत ३०
पछिल्लो क्रममा महिलाहरु गर्भपतन सम्बन्धमा जानकार छन् । मेरो शरिर, मेरो अधिकार भन्ने ज्ञानपनि बढेको छ । नेपालको संविधानको धारा ३८ (२)ले सुरक्षित गर्भपतनको मान्यता दिएको छ । तर अहिलेपनि असुरक्षित गर्भपतन गर्ने क्रम रोकिएको छैन । असुरक्षित गर्भपतन चेतनाको अभावले होईन । बरु समाजको डरले हुने गरेको महिलाहरुको भनाई छ । सोहि डरका कारण अहिलेपनि युवतीहरु लुकीचोरी गर्भपतन गराउन बाध्य छन् ।
स्याङ्जा घर भई पोखरा बस्ने रञ्जिता गुरुङ (नाम परिवर्तन) गर्भपतनलाई हेर्ने दृष्टिकोण नकारात्मक हुँदा असुरक्षित गर्भपतन गराउन युवतीहरु बाध्य भएको बताउँछिन् । उनका अनुसार आम युवती मान्यता प्राप्त संस्थामा गर्भपतन गराउनका लागि जान हिच्किचाउँछन् । किनकी त्यहाँ जाँदा गोपनीयता भंग हुन्छ भन्ने ठान्छन् उनीहरु । त्यसैले त उनीहरु आफूखुशी औषधी किनेर असुरक्षित गर्भपतन गराउने गर्छन् । सुरक्षित गर्भपतन गर्ने ठाउँ गोपनीयताको हिसाबले असुरक्षित जस्तो लाग्छ,उनले अगाडि भनिन्,‘त्यसैले गोपनीयताका लागि भएपनि असुरक्षित गर्भपतन गर्ने बाध्यता छ ।’
रञ्जिताको भनाईमा हो मा हो मिलाउँछिन् अनिसा गहतराज (नाम परिवर्तन) । भन्छिन्,‘गोपनीयता भंग भयो भने त आफन्त र समाजले मारिहाल्छ नि ! त्यसैले जोखिम मोलेरै घरमै असुरक्षित गर्भपतन गराउनु युवतीको बाध्यता हो ।’ उनका अनुसार गर्भपतन गरेको कुरा समाजमा सार्वजनिक भयो भने महिलालाई छिछि र दुरदुर शुरु हुन्छ । जसका कारण आत्महत्याको बाटोसम्म पुग्न बाध्य बनाउँछन् महिलालाई ।

पर्वतबाट अध्ययनका लागि पोखरा झरेकी सुमना जोशी (नाम परिवर्तन)पनि असुरक्षित गर्भपतन गर्नु युवतीको रहर नभई बाध्यता भएको बताउँछिन् । गर्भपतनका लागि तोकिएको ठाउँमा जाने हिम्मत कसले गर्ने ? उनले प्रश्न गर्दै भनिन्,‘त्यहाँ जानु त परको कुरा । त्यसको छेउछाउको बाटो जाँदापनि कसैले देख्छ कि भन्ने पीर हुन्छ ।’ त्यसैले असुरक्षित गर्भपतन गर्न बाध्य हुने गरेको उनको भनाई छ ।
यो आफूहरुको मात्र नभई आम महिलाको समस्या भएको उनीहरुको भनाई छ । त्यसैले सुरक्षित गर्भपतनका लागि पहिले समाज तयार पार्नुपर्ने उनीहरुको धारणा छ । सामाजिक संरचना नै सुरक्षित गर्भपतनको बाधक भएको रञ्जिताको धारणा छ । भन्छिन्,‘गर्भपतन महिलाको अधिकार हो भन्ने बुझाउन आवश्यक छ । जबसम्म छिछि र दुरदुर गर्ने, लाञ्छना लगाउने र नकारात्मक धारणा बनाउने समाज रहन्छ तबसम्म सुरक्षित गर्भपतनका लागि मान्यताप्राप्त स्वास्थ्य संस्थामा पुग्न मुश्किल छ ।’
सुरक्षित गर्भपतनका लागि तोकिएको मान्यता प्राप्त स्वास्थ्य संस्थामा जाने अभियान नै सञ्चालन गर्नुपर्ने अनिसाको धारणा छ । कसैलाईपनि अनिच्छुक गर्भ जन्माएर मानसिक यातना र जिन्दगीभरी पीडा बोक्ने मन हुँदैन,उनले भनिन्,‘तर त्यसका लागि युवतीलाई मानसिक रुपमा तयार गर्नुपर्छ । त्यो भनेको समाजले हेर्ने दृष्टिकोण परिवर्तन हुनुप¥यो । अर्कोचाहिं काउन्सिलिङपनि जरुरी छ ।’
सुमना भने परिवार नै सुरक्षित गर्भपतनको बाधक हुने भन्दै त्यसका लागि जागरण अभियान चलाउनुपर्नेमा जोड दिन्छिन् । अनिच्छुक गर्भको उत्तम विकल्प सुरक्षित गर्भपतन हो भन्ने बुझाउन जरुरी छ,उनले भनिन्,‘यसो गरेर परिवार तयार गर्न सकियो भने समाजको धारणा आफै परिवर्तन हुन्छ ।’
पछिल्लो समय राईट हियर, राईट नाउ नेपालले लाञ्छनारहित सुरक्षित गर्भपतनका लागि पैरवी गर्दै आएको छ । जसले लाञ्छनारहित सुरक्षित गर्भपतन सेवाहरुको आवश्यक्तामाथि प्रकाश पार्नुका साथै सरोकारवालाहरु र सरकारलाई सुरक्षित, युवामैत्री र लाञ्छनारहित गर्भपतन सेवाको पक्षमा उभिन उत्प्रेरित गर्दै आएको भिजिबल ईम्प्याक्टले जनाएको छ ।
विश्वमा अहिलेपनि असुरक्षित गर्भपतन गराउँदा कुल मातृ मृत्यू दरको संख्या ४.७ प्रतिशत देखि १३.२ प्रतिशतसम्म हुने गरेको छ । यसको न्यूनिकरणका लागि सुरक्षित गर्भपतन गराउन आवश्यक छ । त्यसका लागि कानून् बनाएर कार्यान्वयनमा लगिएपनि सामाजिक संरचना र पारिवारिक दवाबका कारण प्रभावकारी परिणाम भने आउन सकेको छैन ।
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


पोखरा । यमपञ्चक अर्थात् तिहारको पाँचौँ तथा अन्तिम दिन बुधबार दिदीबहिनीले दाजुभाइलाई…







