धौलागिरि अस्पतालले पाठेघर तथा आङ खस्ने समस्या समुदायमा पुगेर खोजी गर्ने


     एभरेस्ट आवाज    
     वैशाख २३ गते २०८१ मा प्रकाशित




बागलुङ । धौलागिरि अस्पतालले महिलाको पाठेघर खस्ने समस्या समाधानका लागि निःशुल्क शिविर गरेर बिरामीको पहिचान गर्ने भएको छ ।

अस्पतालले विभिन्न स्थानमा रहेर पहिलो चरणमा स्क्रिनिङ शिविर सञ्चालन गर्ने र त्यसपछि शिविरका आधारमा पहिचान भएका बिरामीलाई उपचार र निःशुल्क अपरेशनसमेत गराउने योजना बनाएको हो ।

अस्पतालले आयोजना गरेको पत्रकार सम्मेलनमा स्त्रीरोग विशेषज्ञ डा रेखा शर्माले उक्त जानकारी गराए उनले पहिलो चरणमा काठेखोला र बरेङ गाउँपालिका तथा जैमिनी नगरपालिकामा स्क्रिनिङ शिविर सञ्चालन गरेर पहिचान भएका बिरामीको धौलागिरि अस्पतालमा निःशुल्क उपचार र शल्यक्रिया गराउने बताए ।

शर्माका अनुसार अस्पतातले यही वैशाख ३० गते बरेङ, आगामी जेठ ५ गते जैमिनी र जेठ १२ गते काठेखोलामा स्क्रिनिङ शिविर सञ्चालन गर्न लागिएको हो । त्यसबाहेक शिविरमा फिस्टुला, निःसन्तान दम्पतीको समस्या समाधान, महिनावारी गडबडी, पिसाबको समस्या तथा प्रजनन स्वास्थ्यबारे परीक्षण गरिनेछ । त्यसबाहेक पाठेघरको मुखको क्यान्सर परीक्षण, स्तन क्यान्सर हुन सक्ने सम्भावनाको खोजी गरिने बताइएको छ ।

निजी संस्थामा गएमा पाठेघरको अपरेसनलगायतका उपचारमा रु डेढ लाखसम्म खर्च हुनेछ । सरकारी अस्पतालमा भने सरकारले पठाइदिने प्रतिव्यक्ति रु १३ हजार र अस्पताल विकास समितिले थप गर्ने रु छ हजार गरी रु १९ हजारको उपकरण र औषधि प्रयोगपछि शल्यक्रिया गर्न सकिने गरी यो अवसर ल्याइएको अस्पताल विकास समितिका अध्यक्ष नारायण शर्मा पौडेलले बताए।

उनले राज्यको उत्तरदायित्व पूरा गर्ने र गाउँघरका बिरामीको उपचारमा पनि सहयोग गर्ने लक्ष्य राखिएको बताए । कार्यक्रममा अस्पताल विकास समिति सदस्य लक्ष्मी जिसी कार्कीले महिलाको शरीर संवेदनशील भएकाले ग्रामीण क्षेत्रमा पुगेर उपचार गर्दा आवश्यक परेमा शल्यक्रियासमेत गर्न चिकित्सक टोली खटाइएको बताए । उनले पश्चिम बागलुङमा यस्ता बिरामीको उपचारमा पहल गर्ने बताए।

अस्पतालले शल्यक्रिया समय भनेपछि तय गर्नेछ । गत वर्ष पनि विभिन्न स्थानमा भएका स्क्रिनिङबाट ३६ जनाको शल्यक्रिया निःशुल्क गरिएको थियो । रासस


सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।